गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन गठबन्धन इलामको अपिल

इलाम : लोकतान्त्रिक बाम गठबन्धन इलामले जिल्लाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लाबासीहरुमा अपिल गरेको छ ।

सोमबार गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका साझा उम्मेद्वारहरुको निर्वाचन चिन्हमा मतदान गरी विजयी गराउन जिल्लाबासिहरुमा अपिल गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति डम्बर खड्का, माओवादी केन्द्रका संयोजक विजय खम्बू र एकिकृत समाजवादीका अध्यक्ष भक्त केसीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेद्वारहरुको निर्वाचन चिन्हमा मतदान गरी विजयी गराउन र समानुपातिकतर्फ आआफ्नो राजनैतिक दलको निर्वाचन चिन्हमा मतदान गर्न जिल्लाबासीहरुमा अपिल गरिएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेद्वारहरु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाललाई ‘कलम’ चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बुलाई ‘कलम’ चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका शमसेर राईलाई ‘रुख’ चिन्हमा मतदान गर्न अपिल गरेको छ ।

त्यसैगरी संघीय निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खडकालाई ‘रुख’ चिन्हमा, प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका गोविन्द गिरीलाई ‘रुख’ चिन्हमा र प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर लावती (कान्छा) लाई ‘गोलाकार भित्रको हँसिया हथौडा’ चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन अपिल गरेको छ । समानुपातिकतर्फ आआफनो दलको निर्वाचन चिन्हमा मतदान गर्न समेत गठबन्धनले अपिल गरेको छ ।

त्यस्तै गठबन्धनले लोकतान्त्रिक बाम गठबन्धनको निर्णय विरुद्ध उमेद्वारी दिने, प्रस्ताव गर्ने तथा समर्थन गर्नेलाई उम्मेद्वारी फिर्ता लिएर निर्वाचन गतिविधिमा सहभागी हुन् आग्रह समेत गरेको छ । साथै गठबन्धन कार्यान्वयन गर्न कार्यकर्ताहरुलाई अपिल समेत गरेको छ । ‘अग्रगमनका पक्षधर लोकतान्त्रिक बाम गठबन्धनका उमेद्वारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्दै पार्टी अनुशासनलाई कडाईपूर्वक कार्यन्वयन गरी गठबन्धनका साझा उमेदवार विरुद्ध कुनै पनि किसिमका गतिविधि एवं टिका टिप्पणीमा नर्गन नगराउन हुन सम्बन्धित नेता तथा कार्यकर्ताहरुमा विषेश ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले आम इलामेली जनताले परिकल्पना गरेको सुन्दर एवं समृद्ध इलाम निर्माणका लागि आफ्नो साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लाबासीमा अपिल गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार