इलाम : आसन्न ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि इलाममा २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ तर्फको प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (१) मा ८ र १ (२) मा ६ मनोनयन दर्ता गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ तर्फको प्रदेशसभा सदस्यका लागि २ (१) मा ७ र २ (२) मा ७ राजनीतिक दल र १ स्वतन्त्र गरी ८ जनाले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) ले मनोनयन दर्ता गरेकी छन् । लङ्वालाई चुनौती दिन एमालेकी शोभा पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङ, मौलिक जरोकिलो पार्टीका आशिष महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेल, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बू, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा लङ्वा र पराजुलीबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ । पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् ।
क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति समशेर राईले मनोनयन दर्ता गरेका छन् ।
राईलाई चुनौती दिन एमालेका तर्फबाट माई नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपककुमार थेवे, राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमारी लुङ्गेली, जनता समाजवादी पार्टी नेपालका ओपेन्द्र राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा राई र थेवेबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।
उता क्षेत्र नम्बर २ तर्फको प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गरेका छन् । उनलाई चुनौती दिन एमालेका तर्फबाट जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बराल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टंकबहादुर नोगु, राष्ट्रिय जनमुक्ति पार्टीका मित्र जवेगू, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामनाथ भण्डारी, जनता समाजवादी पार्टी नेपालका रामकुमार लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका लक्षुमान राई माक्रेहाङने मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा गिरी र बरालबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।
क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले मनोनयन दर्ता गरेका छन् । उनलाई चुनौती दिन एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर राना, मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फे, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागु र स्वतन्त्रको हैसियतमा हर्कप्रसाद साम्वाले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा लावती र रानाबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।
सोमबार उम्मेद्वारको विरोधमा उजुरी दिने, सोमबार र मंगलबार मनोनयनपत्र र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने र मंगलबार उम्मद्वारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेद्वारको नाम फिर्ता लिने, उम्मद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरको छ ।
इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छा ।
त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।