इलाममा प्रतिनिधिसभा २ मा १४ को मनोनयन दर्ता (उम्मेद्वारको सूचिसहित)

  नयाँ बुलन्द
693 Shares

सुवासचन्द्र नेम्बाङ

इलाम : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ मा  १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ मा पूर्व संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसहित १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय इलामले जनाएको छ ।

नेम्बाङलाई चुनौती दिन सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै जुनु माखिम र दिपेश बोहोराले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गरका छन् । सो क्षेत्रमा नेम्बाङ र खड्काबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।

डम्बरबहादुर खड्का

सो क्षेत्रको प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (१) मा ७ र २ (२) मा ७ राजनीतिक दल र १ स्वतन्त्र गरी ८ जनाले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गरेका छन् । उनलाई चुनौती दिन एमालेका तर्फबाट जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बराल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टंकबहादुर नोगु, राष्ट्रिय जनमुक्ति पार्टीका मित्र जवेगू, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामनाथ भण्डारी, जनता समाजवादी पार्टी नेपालका रामकुमार लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका लक्षुमान राई माक्रेहाङने मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा गिरी र बरालबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।

क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले मनोनयन दर्ता गरेका छन् । उनलाई चुनौती दिन एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर राना,  मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फे, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागु र स्वतन्त्रको हैसियतमा हर्कप्रसाद साम्वाले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा लावती र रानाबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।

सोमबार उम्मेद्वारको विरोधमा उजुरी दिने, सोमबार र मंगलबार मनोनयनपत्र र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने र मंगलबार उम्मद्वारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेद्वारको नाम फिर्ता लिने, उम्मद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरको छ ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छा ।

त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार