दशैको रौनक सुरु ,परदेशिएका युवाहरु लर्को लागेर घर फर्कदै

इलाम : इलाममा बारीको कान्लामा ढकमक्क सयपत्री फूल, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ ।

योसँगै गाँउघर छाडेर शहर निश्किएका हुन् वा रोजगारीका लागि परदेशिएका युवाहरु हुन् सबै अहिले लर्को लागेर घर फर्कन थालेका छन् । गएको केही वर्ष कोरोनाको त्रासले इलाममा फिक्का भएको दशैं यसपटक रौंनक बोकेर भित्रिए झै देखिन्छ ।

हे, फूले होला मखमली बारीमा, पाके होला केरानी घारीमा दशैं-तिहार आउँदा, दशैं-तिहार आउँदा घर आउन मन लाग्दा रुन्छ मन बेसरी छुट्टी नपाउँदा, यो गीतको भाकासँगै गाउँघरमा दशैंको रौंनक सुरु भएको छ । सुकिलो हुँदै गरेको बाटो होस् या बारीमा पाक्ने बाली देख्दा दशैं आएको भान गराउछ । बिहानी घामको किरणसँगै रेडियो र टेलिभीजनमा गुन्जने मालश्री धुनले अझ दशैंको उमंग थपेको छ ।

यतिबेला इलामका हाट बजारमा समेत चहलपहल बढेको देखिन्छ भने यातायतका साधन समेत सडकमा बाक्लै देख्न सकिन्छ । तर, गाउँघरमा अहिले दशैं परिस्कृत हँदै गएको छ । कमेरो माटोले घर लिपपोत गर्ने चलन हराउदै गएको छ भने बजारमा पाइने रङले सजावटलाई आकर्षक गर्न थालिएको छ । दशैंको महत्वपूर्ण पक्ष मानिने लिङ्गे पिङ पनि बिरेलै ठाउँमा ठडिने गरेको छ ।

पछिल्लो समय नेपालमा मात्र नभइ विदेशमा समेत दशैंको रौंनक बढ्न थालेको छ । यतिबेला विदेशमा रहेकाहरु स्वदेश फर्किरहेका छन् । बाध्यताले रोजगारीका लागि विदेशिएकाहरु दशैंको मुखमा सकेसम्म मातृभूमि फर्किन्न चाहन्छन् । वर्षौपछि परिवार आफन्तसँग दशैं मनाउने हर्ष छुट्टै अनुभव गर्न सकिन्छ । यति मात्र होइन अझ बालापनमा त झन् दशैंको बेग्लै मज्जा हुन्छ । दशैको नयाँ नाना, खेलौना अनि घरमा आएका पाहुनालाई देखाउन दशैंमा सुरुदेखिकै योजना सम्झिदा छुट्टै अनुभूति हुन्छ ।

यता दशैंको बेला यात्रुलाई सहज यात्रा बनाउन इलाममा ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइएको छ । चाडबाडलाई लक्षित गरेर सवारी चेकजाँचलाई समेत कडा बनाइएको इलामका ट्राफिक प्रमुख शैलेन्द्र कुमार गच्छदारको भनाइ छ ।
तर आज भोलि समयक्रमसँगै दशैको रौंनक बदलिएको छ । रीतिरिवाज, परम्पराहरु पनि बदलिदै गएका छन्, हराउँदै गएका छन् ।

परिवर्तित रहनसहन र लवाइखबाईले गर्दा पर्व मनाउने तौरतरिका पनि बदलिएको छ । हरेक चाड पर्वहरुको नेपाली मौलिकता हराउँदै गएको छ । त्यसैले यसको मौलिकतालाई संरक्षण गर्नुपर्ने दायित्वबोध हुनुपर्ने पनि देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार