राष्ट्रिय गौरवको आयोजनाले कहिले पाउला प्राथमिकता

  प्रमिशा घिमिरे
70 Shares

संखुवासभा :

त्रिदेशीय लिङ्क रोड किमाथांका-जोगवनी निमार्णले अझै गति लिन सकेको छैन। यस सडकमा चार अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि सवारी चालक सञ्चालनमा समस्या उस्तै छ।

सरकारले किमाथांका-जोगवनी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएपनि सडक निर्माण कार्य भने सुस्त गतिमा रहेको छ।

उत्तर दक्षिण कोशी सडक योजनाले सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअगाडि नै शर्मा शीवशक्ति जेभी निर्माण कम्पनीलाई जिम्मा दिएको थियो।

पिच गर्ने जिम्मा पाएको शर्मा शीवशक्तिले गत आर्थिक मसान्तसम्ममा सात प्रतिशत मात्र भौतिक प्रगति गरेको सडक आयोजनाले जनाएको छ। शर्मा शिवशक्ति जेभीले २०७८ असार १७ मा २०८० पुस १७ गते सम्पन्न गर्ने गरी सडक योजनासँग ठेक्का सम्झौता गरेको थियो।

३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का लिएको हो। दुई अर्ब ६० करोडको ठेक्का शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा लिएको थियो।

निर्माणको जिम्मा पाएपछि निर्माण कम्पनीले सडक चौडा गर्ने क्रममा ग्राभेल गरिको सडक समेत हिलाम्मे भएको छ। सडकमा नयाँ माटो थपिएकाले सडक हिलाम्मे भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर किरण कुमार श्रेष्ठले बताए।

दैनिक भारी वर्षा भएकाले पनि सडक हिलाम्मे भएको श्रेष्ठ बताउँछन्। खाँदबारी-किमाथांका १६२ किलोमिटर अन्तर्गतको करिब ११ किलोमिटर ट्रयाक खुल्न बाँकी छ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको १४ किलोमिटर ट्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएपछि २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सो काम सुम्पिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार