इलाम : नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर भने सुनसान देखिएकाे छ । कोरोनाका कारण लकडाउनले थलिएको साेही बजार अझै लयमा फर्किन समेत सकेको छैन् ।
धेरै जसो पसलका सटरहरूमा चाबी लाएको देख्न सकिन्छ भने खुलेका पसलहरूमा पनि ग्राहक नहुँदा व्यापारी निराश देखिन्छन् । कतिपय व्यापारीहरू व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् । भारतीय व्यपारीहरूको किनमेल गर्ने नजिक र सस्तो बजार पशुपतिनगरको अहिले बिचल्ली भएको छ ।
पशुपतिनगर चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी, जुत्ता लगायतका सामग्रीहरू खरिद गर्नेहरूको मुख्य बजार समेत थियो । तर अहिले आएर यो बजार सुक्दै जाँदा यसको रौंनकता पनि आफैं हराउँदै गएको स्थानीयको भनाइ छ ।
इलामकै प्रमुख व्यापारीक केन्द्रको रूपमा रहेको पशुपतिनगर बजारको चहलपहल हराउदै जाँदा एकातर्फ व्यवसायीहरू पलायन भइरहेका छन् भने अर्कोतर्फ सरकारले संकलन गर्ने राजस्वमा समेत कमी आएको छ ।