सिटकै कारण गठबन्धनभित्र असन्तुष्टि

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुबीच तीब्र असन्तुष्टि बढेको छ । गठबन्धनमा सीट बाँडफाँटको सकस परिरहेको बेला गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ ।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र सिट बाँडफाँटकै विषयलाई लिएर आन्तरिक कलह चुलिँदै गएको छ । आसन्न निर्वाचनको लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची र प्रत्यक्षतर्फको सिट बाँडफाँटप्रति विरोध गर्दै पार्टीभित्रको संस्थापनइतर समूहले आन्दोलनको घोषणा गरेको छ ।

टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको भन्दै शनिवार विरोधसभा गरेको इतर समूहले सोमबार असोज १२ देखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग गर्दै असन्तुष्ट समूहले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना, १३ गते विरोधसभा र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने निर्णय गरेको छ ।

सिट बाँडफाँट र समानुपातिक बन्दसूचीप्रति असन्तुष्ट कांग्रेस महामन्त्री गगन थापा सिट बाँडफाँटको लागि गठन गरिएको कृष्णप्रसाद सिटौला नेतृत्वको सत्तागठबन्धनको कार्यदल बैठकमा नै उपस्थित हुन छोड्नुभएको छ । समानुपातिक उम्मेदवार सूची बुझाउँदा आफ्नो पक्षलाई ४० प्रतिशत नदिएको इतर समूहको आरोप छ ।

गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रमा टिकट वितरणको विषयलाई लिएर तिव्र असन्तुष्टि देखिएको छ । माओवादी केन्द्र धनकुटाका नेताहरूले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आइतबार सामूहिक राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसलाई प्रतिनिधिसभाको सिट दिने गठबन्धनमा सहमति भएको सूचना पाएपछि पोलिट्व्युरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीभित्र पार्टी नेतृत्वप्रति नै नेताहरुले सार्वजनिक रुपले नै असन्तुष्टि जनाउन थालेका छन् । एकीकृत समाजवादी पार्टीमा तेस्रो वरियतामा रहनुभएका नेता मुकुन्द न्यौपानेले पार्टी विधि, पद्धति, सिन्द्धान्तअनुसार नचलेको टिप्पणी गर्दै पार्टी विभाजनको औचित्यबारे समेत नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटदेखि पार्टी सञ्चालनलगायतका विषयमा प्रश्न उठाउँदै न्यौपानेले पार्टी सही दिशामा अगाडि नबढेको जिरिक गर्नुभएको छ । गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टीभित्र पनि आन्तरिक विवाद उत्तिकै छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूसँग विमति राख्ने नेतालाई पेल्ने, टिकट नदिने, पार्टीभित्र र बाहिरको नियुक्ति, लाभका पददेखि जिम्मेवारी बाँडफाँटमा अन्य थरका नेतालाई अवसर नदिने गरेको भन्दै विरोध भइरहेको छ ।

पार्टी अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पछिल्ला दिनहरुमा जसपाका पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुख, उपप्रमुखसहितका दर्जन बढी नेताहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरिसकेका छन् । दलहरुभित्र देखिएको कलहले निर्वाचनको मुखमा पार्टी फेरबदलको श्रृङ्खलाले निरन्तरता पाउने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार