इलाम : मेची राजमार्गसहित जिल्लाका एक सय ४३ सडक रुटको नयाँ सवारी भाडादर कायम गरिएको छ। मेची राजमार्गको इलाम–बिर्तामोड तथा इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा राजमार्गबाहेकका सडक रुटको भाडादर १५ प्रतिशतले बढेको छ। तर, मेची राजमार्गबाहेकका सडकको चाहिँ अवस्था अध्ययन गरी एक महिनापछि भाडादर पुनरावलोकन गरिने भएको छ।
अब मेची राजमार्गअन्तर्गत इलाम–बिर्तामोडको भाडा ४ सय ३० र इलाम–फिदिमको भाडा ४ सय ८ रुपैयाँ कायम भएको छ। स्थानीय यातायात व्यवस्थापन समितिको आज (आइतबार) बसेको बैठकले २०७८ असोज १८ मा तोकेको भाडादरलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको हो। यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३ सय ५३ र इलाम–फिदिमको ३ सय ३५ रुपैयाँ थियो।
समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ भाडादर आजैदेखि लागू हुने बताए।
विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अन्य कारण देखाउँदै सवारीका साधनले ०७८ असोज १९ देखि लागू भएको भाडादर आफूखुसी बढाएका थिए।
























































