काठमाडौं । महान चाड दशैँ नजिकिंदै गएपनि फलफूल बजारमा खासै चहलपहल छैन । फलफूलको सिजन सधै भएपनि दशैँ तिहारको समयमा अझ धेरै व्यापार हुने गरेकोमा यो वर्ष फलफूल बजार सुनसान रहेको छ । त्यस्तै, विगतको तुलनामा फलफूलको मूल्यवृद्धि आकासिएको पाइएको छ ।
प्रमुख चाडपर्वको बेलामा देशैभर फलफूलको मूल्य ५० प्रतिशतसम्म बढ्ने गर्दछ । चाडपर्वको मौका छोपेर होलसेल तथा खुद्रा व्यापारीहरुले आफुखुसी मूल्य तोक्ने गर्दछन् । अरु समय भन्दा चाडपर्वको समयमा प्रतिकिलो ५० रुपैयाँ भन्दा बढीमा व्यापारीहरुले फलफूल बेच्ने गरेको पाइन्छ । यो पटक दशैँ नजिकिँदै गर्दा फलफूल होलसेल पसलहरुमा फाट्ट फुट्टमात्र व्यापारी देखिएका छन् । मूल्य वृद्धि र डेंगुको प्रकोपका कारण बजारमा खासै चहलपहल छैन ।
किसानबाट सस्तोमा उठाएर ल्याएपनि थोक बजारमा ल्याउँदा फलफूलको मूल्य २ सय ५० प्रतिशत बढी मूल्य हुने गरेको पाइन्छ । थोक बजारमा पनि व्यापारीहरुले आफूखुसी भाउ गर्दा समानता छैन । यो वर्ष विगत वर्षभन्दा २५ देखि ३५ प्रतिशत बढी फलफूलको मूल्य वृद्धि भएको व्यापारीहरु बताउँछन् । फलफूल बजारमा पनि ६० प्रतिशतभन्दा धेरै व्यापार घटेको व्यापारीहरु गुनासो गर्दछन् ।
नेपाली बजारमा ९० प्रतिशत फलफूल भारत र चिनबाट आयात हुने गर्दछ । नेपालले छिमेकी मुलुक, चीन ,भारत, बङ्गलादेश लगायतका विभिन्न देशहरुबाट १३ जातका फलफूल आयात गर्ने गरेको छ । त्यस्तै, लामो समयदेखि बन्द भएको चिनिया नाका खुलेसँगै चाईनाबाट बजारमा माग अनुसारको फलफूल ल्याउन केही सहज भएको छ । विगतमा चिनिया नाकाबाट १० दिनमा नेपाल भित्रिने फलफूल ल्याउन महिनौँ लाग्ने गरेको थियो ।
यता, नेपाली बजारमा पाईने फलफूलको गुणस्तर पनि निकै घटेको छ । बजारबाट राम्र्रै किनेको फलफूल एक दिनमै कुहीने तथा गल्ने गरेको पाइन्छ । फलफूलमा स्वाद पनि पहिलेको जस्तो पाइँदैन । पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको छ । फलफूल खेतीमा नगण्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था आएको हो । त्यस्तै, बढ्दो कालोबजारीको मारमा पनि उपभोक्ता परेका छन् । अझ पसलैपिच्छेका फरक फरक मूल्यले झनै समस्या पर्ने गरेको छ ।