पाँचथरः १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्माण सम्पन्न संरचनाको उद्घाटनमा व्यस्त छन् ।
मन्त्री आङ्बोले गृहजिल्ला पाँचथरका विभिन्न स्थानीयतहमा प्रदेश सरकारको सहयोगमा संचालित योजनाहरु कतिपय उनैले शिलन्यान गरेका थिए । आफ्नै कार्यकालमा उनको पहलमा उपलब्ध बजेटका योजना निर्माण सम्पन्नपछि यतिबेला उद्घाटन गर्न भ्याईनभ्याई छ ।
शुक्रबार फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को घुर्बिसे पञ्चमी कभर्डहल र सोही वडाको विद्यालयको भवन एकैसाथ उद्घाटन गरेका छन् । २०७७ मंशीर १५ गते मन्त्री आङ्बोको हस्तबाहुलीबाट शिलन्यास भएको कभर्डहल कुल लागत १ करोड ३४ लाख रुपैंया बजेटमा निर्माण सम्पन्न भएको छ । पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको अध्यक्षतामा प्रमुख अथिति मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् । हल भित्र २ वटा ब्याडमिन्टन कोर्ट र एउटा सभाहल रहेको कभर्डहल निर्माण गर्न स्थानीयले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए । जग्गादादाहरुलाई यसै अवसरमा प्रमुख र विशेष अथिति तथा पालिकाका जनप्रतिनिधले सम्मान गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
यसैबीच,जनकल्याण माध्यमिक विद्यालय कोल्बुङको आठ कोठे पक्की दुई तले भवन पनि उद्घाटन गरेका छन् । प्रदेश सरकारको समपुरक ९४ लाख ५५ हजार रुपैंंयामा २०७७ साल माघमा निर्माण थालिएको भवन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क चेम्जोङको अध्यक्षतामा मन्त्री आङ्बोको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले जानकारी गराए । भवनसंगै विद्यालयको नवनिर्मित खेल मैदान पनि उद्घाटन भएको हो ।
धेरै जसो आयोजनाहरु शिलन्याश हुने तर निर्माण कार्य भने अलपत्र बन्ने कयौं उदाहरण बनिरहेको बेला स्थानीयतहमा भित्रिएका योजानाहरु निर्माण सम्पन्नपछि संचालन गर्न पाउँदा अत्यन्तै खुशी लागेको पालिकाका जनप्रतिनिधि तथा आम नागरिकले गर्व मानेका छन् ।
विकाश प्रेमी नेताको रुपमा परिचित आङ्बो पाँचथर प्रदेश सभा ‘ख’ बाट तत्कालिन बामगठबन्धनको तर्फबाट प्रदेश सभा सांसद बनेपछि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । बामगठबन्धन टुटेपश्चात् नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीयदलको नेता बन्दै दोस्रो कार्यकाल अर्थमन्त्री बनेका हुन् । आगामी मंशीर ४ गते हुने निर्वाचनमा पुनः उनी पाँचथर प्रदेश सभा ‘ख’ बाट उम्मेद्वार बनेका छन् पहिलो पटक प्रदेशको मन्त्रालय सम्हाल्ने मौका पाएका आङ्बो जिल्लाको विकाश निर्माण लगायत अन्य सामजिक काममा सकारात्म पाइला चालेका कारण उनी चर्चित बनेका हुन् । जिल्लाबासीले उनको कार्यशैलीको समेत प्रशंसा गर्दै आएका छन् ।