इलाम : इलामलाई विकासको हिसावले सुगम जिल्लाको रुपमा चिनिन्छ । त्यसमा पनि इलाम नगरपालिकालाई सुविधा सम्पन्न नगरका रुपमा लिइन्छ । तर यही नगरको सोयाक र साङरुम्बाका बासिन्दा भने खोलामा पुल नहुँदा लामो समयदेखी जोखिम मोलेर हिड्न बाध्य छन् । गाडी ठप्प हुँदा कृषि उपजले मूल्य समेत पाउन सकेको छैन ।
इलाम बजारमा गाईको दूध प्रतिलिटर ८० रुपैंयाँ पर्छ तर इलाम बजारबाट एक घण्टाको दूरीमा रहेको सोयाकमा त्यही गाईको दूध बिक्दैन ।गाउँमा गाडी नपुगेपछि दूध नबिकेको हो । इलाम नगरपालिका वडा नम्बर ११ मा पर्ने सोयाक विकासको हिसाबले पछाडिएको गाउँ हो ।पुवाखोलाको सटके भन्ने ठाउँमा पक्की पुल नहुँदा बर्खायाममा सोयाकबासीको इलामसंगको सम्पर्क टुट्ने गर्छ । लामो समयदेखी पुवाखोलामा पक्की पुल नहुँदा वडा नम्बर ११ र १२ का स्थानियले कृषि जन्य उत्पादनको मूल्य नपाएकाे साेयाकका प्रकाश गुराँगाई बताउछन् ।
पुवाखोला तरेर मात्र इलाम नगरपालिका ११ र १२ मा पर्ने सोयाक र साङरुम्बा भन्ने गाउमाँ पुग्न सकिन्छ । बर्षौदेखि पक्की पुलको पर्खाइमा रहेका यहाँका स्थानिय पुल बन्ने छाँटकाट नदेखेपछि निराश छन्। झोलुङे पुलबाट जोखिम मोलेर बाईक कुदाउँदा धेरै घाइते भएका छन् ।
सोयाक र साङरुम्बामा धान र केरा खेती प्रशस्त हुने गर्छ ।सयौं रोपनी क्षेत्रफलमा धान खेती गरेपनि त्यसले उचित मूल्य पाएको छैन ।गाडी नचलेपछि बोकेर बजारसम्म पुर्याउनु पर्छ ।हरेक पटकका चुनावमा नेताहरुले पक्की पुल बनाउने आश्वासन दिएपनि यहाँका जनताको दुःख सँधै उस्तै छ ।
यी दुई वडामा ७२ सय ५० जनसंख्या रहेको छ ।इलाम सदरमुकामको काखमै रहेर पनि दुर्गम भएपछि यहाँका सर्वसाधारण क्रमश गाउँ छाड्दैछन् । गाउँमा स्कूलको गाडी नआउने भएपछि यहाँका धेरै बालबालिका दुई घण्टा लगाएर इलाम बजार नजिकका स्कूल धाउन बाध्य छन् । गाडी नचलेपछि गाउँमा खाद्यन्नको अभाव हुने साङरुम्बाकी कमला लिम्बूकाे भनाइ छ ।
।
पुल नहुँदा खोलावारी र पारीका सडक सुनसान देखिन्छ । खोलावारीबाट एउटा गाडी इलामसम्म चल्ले गरेपनि स्थानियलाई त्यो पर्याप्त छैन ।भारी सहित ३ घण्टा पैदल हिंडेर उनीहरु गाडी भएको ठाउँमा आउने गरेका छन् । २०५६ सालदेखी यही क्षेत्रबाट निरन्तर चुनाव जित्तै आएका एमाले नेता सुवासचन्द्र नेम्बाङले पुल निर्माणमा पर्याप्त ध्यान नदिएको स्थानियको गुनासो छ ।
अघिल्लो निर्बाचनमा यहि स्थानमा पुगेर एमाले नेता सुवासचन्द्र नेम्बाङ र इलाम नगरका पुर्ब प्रमुख महेश बस्नेतले पुल बन्नेमा ढुक्क रहन भन्दै मत मागेका थिए तर आफ्नो कार्यकाल सकियो पुल भने बन्न सकेन । यसैले पनि यस पटकको निर्बाचनमा यहाँका नागरीक भाषण गर्ने मात्र नभएर काम गर्ने नेताको पर्खाइमा रहेका देखिन्छन् ।