जिससको समीक्षा बैठकमा पालिका प्रमुख/उपप्रमुख नै अनुपस्थित !

इलाम : बुधबार जिल्ला समन्वय समिति इलामको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा बैठक थियो । बैठकका लागि प्रमुख सरोकारालाहरु पालिका प्रमुख एवम् उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला समन्वय समितिले एक साता अघि नै पत्राचार गरेर निमन्त्रण गरेको थियो ।

तर बुधबारको समीक्षा बैठकमा फरक दृश्य देखियो । जो सरोकारवालाका लागि अर्थात् जसका लागि बैठक आयोजना गरिएको थियो, उसैको उपस्थिती विना पहिलो दिनको समीक्षा बैठक सकियो । कर्मचारीहरुको मात्र उपस्थितीमा औपचारिकताका लागि मात्र समीक्षा बैठक आयोजना गरेको देखियो ।

इलाम नगरपालिकाले प्रवक्ता नुतनदेव दुलाललाई पठाएको थियो । अन्य पालिकाले भने प्रमुख प्रशासकीय अधिकृत वा अन्य कर्मचारीलाई पात्र पठाएका थिए ।

बैठकमा एक पालिका प्रमुख र दुई उपप्रमुखको मात्र उपस्थिती थियो । १० पालिकामध्ये चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ एवम् देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राई र चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी योङहाङ (लावती) मात्र उपस्थित थिए । चुलाचुलीबाट शिक्षा शाखाप्रमुख रामप्रसाद मिश्र समेत उपस्थित थिए ।

देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेल अस्वस्थ रहेकाले उपस्थित हुन नसेकको उपप्रमुुख पविमाया राईले जानकारी दिइन् । देउमाईबाट प्रमुख प्रशासकीय अधिकृत हरी दाहाल र इन्जिनियर प्रतिक दवाडी उपस्थित थिए ।

इलाम नगरपालिकामा प्रमुख केदार थापा र उपप्रमुख विष्णुकुमारी लिम्बू पनि अनुपस्थित रहे । दुवै नेपाली कांग्रेसबाट जितेका थिए । प्रमख र उपप्रमुखको विशेष काम परेकाले बैठकमा उपस्थित हुन नसकेको प्रवक्ता दुलालले जानकारी दिए । सो नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का उपस्थित थिए ।

माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बू र उपप्रमुख हिमा भण्डारी उपस्थित भएनन् । दुवै नेकपा (एमाले) बाट निर्वाचित हन् । माईबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी मात्र उपस्थित थिए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र उप्रमुख दुर्गाकुमार बराल उपस्थित भएनन् । राई नेकपा (एकीकृत समाजवादी) र बराल नेपाली कांग्रेबाट निर्वाचित भएका हुन् । सूर्योदयबाट प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई मात्र उपस्थित थिए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई र उपाध्यक्ष विनोदकुमार नेम्बाङ दुवै अनुपस्थित रहे । राई एमाले र नेम्बाङ जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । माङसेबुङबाट प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान उपस्थित रहे ।

पालिका अध्यक्ष राईले कार्यालय प्रमुखहरुको प्रस्तुती मात्र रहेकाले उपस्थित नभएको अध्यक्ष बताए । ‘आज कार्यालय प्रमुखहरुको प्रस्तुती मात्र रहेकाले उपस्थित भईन’ अध्यक्ष राईले टेलिफोन सम्पर्कमा भने, ‘पर्सी जिल्ला सभाका लागि भोली बेलुसम्म सदरमुकाम आइपुग्छु ।’
फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र उपाध्याक्ष कल्पना राई पनि अनुपस्थित रहे । दुवै एमालेबाट निर्वाचित भएका हुन् । फाकफोकथुमबाट प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, रोजगार संयोजक दीपक राई र कम्प्युटर अपरेटर माधव दाहाल उपस्थित थिए ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ र उपाध्यक्ष हरी लुङ्गेली अनुपस्थित रहे । गुरुङ कांग्रेस र लुङ्गेली एकीकृत समाजवादीबाट निर्वाचित हुन् । सन्दकपुरबाट प्रमुख प्रशासकीय अधिकृत महेश राई उपस्थित थिए ।

रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष विष्णुमाया खवास अनुपस्थित रहे । स्याङबो कांग्रेस र खवास एमालेबाट निर्वाचित हुन् । रोङबाट प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दहाल उपस्थित थिए ।

माईजोगमाई गाउँपालिकाबाट अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई र प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मी अनुपस्थित रहे । थेवे एमाले र राई कांग्रेसबाट निर्वाचित भएका हुन् । माईजोगमाईबाट प्रमुख प्रशासकीय अधिकृत रेग्मी कम्प्युटर अपरेटर अशोक लिम्बूलाई प्रतिनिधि पठाएका थिए ।

बुधबार १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकाको गत वर्षको प्रगति विवरण प्रस्तुत गरका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का पूर्व भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले जिल्लाको समग्र विकासका लागि एकआपसमा सिकाई आदानप्रदान गर्ने कार्यक्रममा पालिका प्रमुख उपस्थित नुहुनुले राम्रो सन्देश नदिने बताए । उनले विकास र समृद्धिका लागि आपसमा समन्वयको खाँचो रहेको औंल्याए ।

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले स्थानीय तहहरुले जिल्ला समीक्षा बैठकलाई महत्व नदिएको बताए । बैठकमा जानैपर्दैन भन्ने मनसायले स्थानीय तहहरुले जिससको महत्व घटाएको उनको गुनासो थियो ।

‘हाम्रा पालिका प्रमुख, उपप्रमुखलाई पठाईएको पत्रमा जिसस प्रमुख वा उपप्रमुख कै हस्ताक्षर चाहिने हो की हामी त्यसको पनि समिक्षा गर्नेछौं’ जिसस प्रमुख राईले भने, ‘यस्तो महत्वपूर्ण कार्यक्रममा उहाँहरुको अनुपस्थितीले पालिकाले जिससलाई नटेरेको अनुभूति हुन्छ ।’ प्रमुख राईले जिल्लाको समग्र विकास र समृद्धिका लागि १० वटौ पालिका र जिससले साझा नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पूर्व जिसस प्रमुख गणेशप्रसाद बरालले विगतमा गरिएको कामको समिक्षा गरिएन भने आगामी दिनमा एकीकृत विकास गर्न समस्या हुने बताए । वार्षिक समीक्षाले विगतका समस्या समाधान र आगामी यात्राको मार्गनिर्देश गर्ने भएकाले सकारात्मक कार्यको रुपमा लिनुपर्ने उनले बताए ।

कार्यक्रममा जिसस उपप्रमुख चित्रकला बराईली, चुलाचुली गाउँपालिका अध्यक्ष केरुङ, देउमाई नगरपालिकाकी उपप्रमुख राई, इलाम नगरपालिका प्रवक्ता दुलाललगायतले जिल्लाको समग्र विकासका लागि पर्याप्त समन्व र सहकार्यको आवश्यकता रहेको धारणा राखेका थिए ।

वार्षिक समीक्षा बैठक विहीबारसम्म चल्नेछ । विहीबार विषयगत समितिको प्रगति प्रस्तुत हुने जिल्ला समन्वय अधिकारी प्रेम काफ्लेले जानकारी दिए । जिल्लासभा शुक्रबार तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार