इलाम : आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विगतदेखि नै हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् ।
तर गठबन्धनभित्रकै एक दल जनता समाजवादी पार्टी (जसपा) ले यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा समेत सहभागी नहुने भएको छ । साथै ‘कालो दिवस’ पनि नमनाउने भएको छ ।
जनता समाजवादी पार्टीको ११ वटा राष्ट्रिय समितिले आइतबार संयुक्त एक प्रेस विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै सोमबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएको छ । संविधान जारी भएदेखि नै विभेदकारी भन्दै संविधान नै पुनर्लेखन गर्नुपर्छ भन्दै आएको जसपाले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्दै संसोधनमा जोड दिएको छ ।
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, शिल्पी/दलित विशेष प्रदेश राष्ट्रिय समिति, तामसालिङ राष्ट्रिय समिति, नेवा: राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति र थरुहट राष्ट्रिय समितिले पहिचानमा आधारित १० प्लस १ प्रदेशहरु स्थापना नभएसम्म निरन्तर रुपमा आन्दोलित हुने र आवाज उठाइरहने प्रतिवद्धता जाहेर गरेको छ ।
नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको भनाई छ ।
‘यो संविधालने आदिवासी जनजाति, मधेसी, शिल्पी/दलित, खस, महिला, मुस्लिम, उत्पीडित, उपेक्षित वर्ग तथा समुदायलाई शासक समुदायजति अधिकार सम्पन्न गर्न सकेको छैन । तत्कालिन मुख्य दलहरुले षडयन्त्रपूर्वक जारी गरेको संविधान र त्यसअन्तरगत रहेको नक्कली सात प्रदेश लादेका हुन् । यस्ता संरचनाले देश निर्माण होइन, द्वन्द्वतिर धकेल्ने निश्चत छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण संघीयताको मूल मर्त मुलत: पहिलो संविधान सभाले तय गरेको पहिचानको पाँच र सामर्थको चार आधारमा प्रदेशको पूनर्संरचन गर्न जरुरी छ । जसपा नेपालका राष्ट्रिय समितिले पहिचानमा आधारिता १० प्लस १ प्रदेशहरु स्थापना नभएसम्म निरन्तर रुपमा आन्दोलित हुने र आवाज उठाइरहने प्रतिवद्धता जाहेर गर्दछौं ।’
२०७२ असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै संविधान जलाएर आन्दोलनमा होमिएको जनता समाजवादी पार्टीले विगतदेखि नै संविधान दिवस वहिष्कार गर्दै आएको छ ।
नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा जनता समाजवादी पार्टीसहित पहिचान पक्षधर पार्टीहरूले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो । संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दीसमेत भएको थियो ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्थाहरूले पनि असोज ३ लाई विरोधकका रूपमा मनाउने भएका छन् । विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गर्खै आएका छन् ।
नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।