काठमाडौं : एकताका एमाले र काँग्रेसले पालैपालो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई बोकेकै शैलीमा पूर्वपञ्चका दिन यसरी फिर्ने भयो कि, एमालेले दुबैथरिलाई पालैपालो खेलाउने अवस्था आउँदैछ ।
एकातिर पार्टी विभाजन र अर्कातिर पाँचदलीय गठबन्धनको घेराबन्दीका कारण मंसिर ४ को चुनाव एमालेका निम्ति अप्ठेरो छ । त्यो अप्ठेरो टार्न उसले कमल थापा र राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेका दुबैथरि पूर्वपञ्चसँग काँध मिलाउँदैछ । त्यसमध्ये कमल थापा पक्षले धेरै सीटमा दावी गरेको छैन । तर, पार्टी पनि ठूलो भएकोले होला, लिङ्देन पक्षको दावी दह्रो छ । थापा पक्षले स्वयं अध्यक्ष संघीय संसदमा प्रत्यक्षबाट निर्वाचित हुनुपर्ने माग राखेको छ । उसले अरु केही व्यक्तिको सम्भाव्य नाम पनि अगाडि सारेको छ ।
लिङ्देन पक्षले चाहिँ क्षेत्र नं.देखि उम्मेदवारसम्म तोकेर एमालेसँग बार्गेनिङ गर्दैछ । त्यसमध्ये कतिपय सीट दिन अध्यक्ष केपी ओली मञ्जुर रहेको एक नेताले जनआस्थालाई बताए । ‘स्थानीय आवश्यकताका आधारमा’ भन्दै ओली आफूले जसरी पनि जित्ने र लिङ्देनसहित उनका मान्छेलाई पनि जिताउने गरी गोप्य वार्ता चलेको हो ।
झापामा लिङ्देन क्षेत्र नं. ३ बाट उठ्ने र ५ नं. बाट ओलीलाई जिताउने सहमति भएको छ । ०७४ को निर्वाचनमा पनि यस्तै गरिएको थियो । भनिन्छ, यदि त्यस्तो भयो भने यही गठबन्धनले झापाका पाँचै क्षेत्र जित्ने अवस्था हुन्छ । चितवनमा प्रचण्डलाई हराउने गरी निर्माण व्यवसायी विक्रम पाण्डे, धादिङमा पूर्वमन्त्री बुद्धिमान तामाङ, रूपन्देही ३ मा दिपक बोहोरा, बाँकेमा धवलसमशेर राणा, नवलपरासीमा धु्रवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाहीहरू प्रस्तावित छन् । यसबाहेक सुर्खेत, पर्सा, धनुषामा पनि लिङ्देन राप्रपाको दावी छ । उसले काठमाडौंको ८ र २ पनि माग गरेको छ ।
माधव नेपालले छाडिसकेको क्षेत्र नम्बर २ पाउँदा नवराज सिंखडा, भुवन पाठकमध्ये उठ्ने छन् । ८ मा विक्रम थापा, प्रकाश रिमालमध्येको दाबी छ । सिन्धुपाल्चोकमा ८५ वर्षीय नेता पशुपतिसमशेर राणालाई उठाउनुपर्ने तर ओलीले शेरबहादुर तामाङलाई नछोड्ने भएपछि कुरा मिलेको छैन । नुवाकोटमा डा. प्रकाशचन्द्र लोहनीलाई भाग लगाउनुपर्ने हो । तर, माओवादीको एक्लो वर्चस्व भएका कारण जित्न मुश्किल हुने राप्रपाको ठम्याई छ । जटिल त मकवानपुरमा छ । मिले पनि, नमिले पनि लिङ्देन पक्षले दिपक सिंहलाई उठाउँदै छ ।
जबकि, कमल थापा पनि त्यही क्षेत्रका हुन् । त्यहाँ दिपक सिंह उठ्दा कमल खतरामा पर्छन् । एमालेले उक्त क्षेत्र कमल थापाका लागि छोड्ने पक्कापक्की भइसकेको बताइन्छ । तर, दिपक सिंह उठ्दा कमल थापामात्रै हैन, अरु उम्मेदवार पनि जोखिममा पर्ने कुरा गत स्थानीय निर्वाचनको अत्यासलाग्दो परिणामले बताउँछ । वैशाख ३० मा दिपक हेटौंडा उपमहानगरको मेयरमा उठेका थिए । जित्ने एकीकृत समाजवादीकी मीना लामाले २३ हजार ७५ मत ल्याउँदा उनले २० हजार ५ सय ३१ मत हात पारे ।
-जनआस्थाबाट