काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा निर्वतमान सांसद अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छिन्।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार एमालेमा स्वागत गरेका हुन्। एमालेको राष्ट्रियताको एजेण्डाबाट प्रभावित भएर आफू पार्टी प्रवेश गरेको अग्रहरीले बताइन्।
‘केपी ओलीजीको राष्ट्रप्रतिको चिन्तन र सोचबाट प्रभावित भएर म एमाले प्रवेश गरेको हुँ। समग्र राष्ट्रकै आकर्षण ओलीजीप्रति छ,’ अग्रहरीले भनिन्।
सद्भावनाका संस्थापक गजेन्द्रनारायण सिंहबाहेक मधेसका मुद्दा बोक्ने सबै दल अवसरवादी भएको उनले आरोप लगाइन्।
जनता समाजवादी पार्टी पनि अवसरवादी मात्रै भएको महशुस भएपछि आफू पार्टी त्याग्ने निष्कर्षमा पुगेको उनले सेतोपाटीलाई बताइन्। ‘मधेसको मुद्दा बोक्ने अन्य दल अवसरवादी मात्रै भए। मधेसको मुद्दा बेचेर लाभ मात्रै प्राप्त गरे। मधेसको मात्रै कुरा गरेर भएन समग्र राष्ट्रको उन्नती हुनुपर्यो भन्ने हेतुले म एमालेमा आएको हुँ,’ उनले भनिन्।
नागरिकता विधेयकमा एमालेको अडान सही भएको अग्रहरीको तर्क छ। ‘एमालेले आमाबाबुको नागरिकता भएकोलाई नागरिकता दिन मनाही गरेको छैन। एमाले मधेसकै नागरिकको हितमा छ,’ उनले भनिन्।
अब कपिलवस्तुलाईनै केन्द्र बनाएर एमालेको सक्रिय राजनीति गर्ने उनले बताइन्।
जसपाबाटै पूर्व मन्त्री उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्दैछन्। उनलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष ओली धनुषा जाँदैछन्।