किरात राई पत्रकार संघ झापाको अध्यक्षमा पुनः साम्पाङ

झापा : किरात राई पत्रकार संघ झापाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार किरात राई यायोक्खा अर्जुनधाराको भवनमा भएको अधिवेशनले अध्यक्षमा पुनः राजन सम्पाङ राई (अर्जुनधारा) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा रविकिरण वान्तावा राई (बिर्तामोड), सचिव सबिना राई (दमक), सहसचिव पवन चाम्लिङ राई (शिवसताक्षी) र कोषाध्यक्षमा भारती राई (बुद्धशान्ति) लाई निर्वाचित गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा सोनिका राई (शिवसताक्षी), दीपसन राई (अर्जुनधारा), निरन राई (दमक) र सबिन राई (बिर्तामोड) रहेका छन् ।
अधिवेशनमा किरात राई पत्रकार संघ झापाले अग्रज राई पत्रकारहरुको सम्मानार्थ अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेको छ ।
पत्रकारिताको माध्यमबाट राई जातिको मुन्धुम, भाषा, कला, संस्कार संस्कृतिलाई उजागर गर्दै आएका झापाका अग्रज राई पत्रकारहरुको सम्मानका लागि उक्त कोष स्थापनाको घोषणा गरिएको संघका अध्यक्ष राजन साम्पाङले बताए ।
उनले संघले २ लाखको अक्षयकोष स्थापना गरि ‘किरात राई पत्रकार वर्ष उत्कृष्ट पुरस्कार’ वितरण गर्ने लक्ष्य रहेको सुनाए ।
संघले राई पत्रकारहरुको स्वास्थ्य बीमा, पत्रकारिता सम्बन्धि तालिमहरु पनि प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष साम्पाङले बताए ।
कार्यक्रममा प्रमुख अतिथि तथा संघकी केन्द्रीय सदस्य लीला राईले पाँच वटा मैन बत्ती बालेर कार्यक्रको उद्घाटन गर्दै झापाले राई पत्रकारहरुको सम्मानमा अक्षयकोष स्थापनाको घोषणा गर्नु प्रशंसनीय भएको बताइन् ।
कार्यक्रममा अग्रज पत्रकारद्वय दिपीन राई, रमेश समदर्शी राईले अक्षयकोषको स्थापना गरि अग्रजहरुलाई सम्मान गर्दै जानु आफैमा राम्रो भएको बताउँदै कार्य योजना, कार्य विधि बनाएर अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा अग्रज पत्रकार दिपीन राईले अक्षयकोषका लागि रु. १० हजार प्रदान गर्ने घोषणा गरे ।
कोष स्थापनाको घोषणा लगत्तै कार्यक्रमका अतिथि तथा किरात राई यायोक्खा अर्जुनधाराका सदस्य विजय साम्पाङ राईले अक्षयकोषका लागि नगद रु. पाँच हजार प्रदान गरेका थिए ।
उनले राई कूलका पत्रकारहरुको जिम्मेवारी अन्य पत्रकारहरुको भन्दा फरक र पृथक भएको बताउँदै किरात राई जातिको मुन्धुम, भाषा, लिपी, संस्कारको संरक्षणमा महत्वपूणर् भूमिका हुने हुँदा उहाँहरुको सम्मानमा सहयोग गरेको बताए ।
संघका अध्यक्ष राजन साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा अर्जुनधाराका सल्लाहकार भरतसिंह राई, यायोक्खा सदस्य विजय साम्पाङ राई, लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य सेलिङ केसी, इन्द्रकुमार राई लगायतले आ-आफ्नो विचार राखेका थिए ।
संघका उपाध्यक्ष रविकिरण वान्तावा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सबिना साम्पाङले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार