पाँचथर: पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन तथा समाजसेवामा सकृय रामप्रकाश (समथिङ) गुरुङको निधन भएको छ । ५४ वर्षको उमेरमा झापाको विर्तामोड स्थित बि एण्ड सी अस्पतालमा विहिवार साँझ उनको निधन भएको हो ।
चारदिन अघि ज्वरो आएर फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका समथिङको स्वास्थमा सुधार नआएपछि बि एण्ड सी रेफर गरिएको अस्पतालका सञ्चालक मंगल बेघाले जानकारी दिए।
उनको शरिरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन । समथिङद्वारा लिखित राजनिति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित भइसकेका छन ।
पछिल्लो पटक यसै महिना उनको स्थानीय तह निर्वाचन २०७९ र ओयामका जनप्रतिनिधि नामक पुस्तक प्रकाशन भएका छन् । यसअघि उहाँले २२ वटा पुस्तक एकैसाथ सार्वजनिक गरेका थिए ।
सामाजिक कार्यमा सधै सकृय समथिङ नौ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेख्दै आएका थिए । उनको संरक्षकत्वमा समथिङ फाउण्डेसन नामक संंस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधिमा क्रियाशिल छ ।
नेपाल पत्रकार महासंघका सदस्य समेत समथिङ मानव अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय थिए । -जोरपाटीबाट