इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
बिहीबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा कार्यक्रममा उहाँले गठबन्धन टुटाउन षड्यन्त्र गर्नेहरुले समस्या देखाएको आरोप लगाउनुभयो । उहाँले अहिलेको निर्वाचनमा गठबन्धनले इमान्दारीता देखाउने पनि बताउनुभयो । गृह जिल्ला पुग्नु भएका खनालले इलाममा पनि गठबन्धको जित सुनिश्चित भएको बताउनुभयो ।
५८औँ बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गरेको हो । उहाँले बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकामैत्री शासन हुनु राम्रो भएको पनि उल्लेख गर्नुभयो । खनालले बालबालिका संरक्षणको भूमिका राज्यको हुने पनि बताउनुभयो ।
५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । प्रदेश १ को बालमैत्री स्थानीय शासन घोषणा गर्ने सूर्योदय नगरपालिका तेस्रो स्थानीय तह रहेको बताईएको छ ।