अलैँचीकाे मूल्य घट्दा किसान निराश

  नयाँ बुलन्द
161 Shares

इलाम : केही बर्ष अघि इलामका गाउँगाउँमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिमन ८५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्म पुग्यो। त्यतिबेला व्यापारी घरदैलोमै अलैँची किन्न आउँथे। किसान अन्न फल्ने खेती मासेर धमाधम अलैँची रोप्न थाले । तर पछिल्लो वर्षदेखि मूल्य घट्न थालेपछि किसान निराश बने। मिहिनेत र लगानी बालुवामा पानी हाले जस्तै भयो।

इलाम  नगरपालिका गाेलाखर्कका खेमराज लुइटेलले  धान फल्ने  खेत मासेर लगाएको अलैँचीले उचित भाउ नपाउँदा निराश बने । तर, राम्रो भाउ पाउने आशामा उनी अझै अलैँची नै स्याहारिरहेका छन् । ‘विगतमा जे भयो, आउने वर्ष राम्रो भाउ पाइएला कि भन्ने अझै आशा छ’, उनले भने । रातदिनको मिहिनेत र लगानीले उत्पादन गरेको अलैँचीले मूल्य नपाए पनि किसानलाई विगत झैं यो वर्ष पनि उचित भाउ पाउने आशा मरेको छैन।

भाउ नपाएपछि गाउँ पस्दैनन् व्यापारी

अलैँचीको भाउ ओरालो लाग्दा किसानलगायत व्यापारी पनि बढी मारमा परेको देखिन्छ। गत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउमा भारी गिरावट आएपछि राम्रो भाउको मौकामा बसेका व्यापारीले पनि गाउँगाउँबाट उठाएका अलैँचीका बोरा गोदाममै त्यतिकै थन्क्याउनु परेको छ। ‘राम्रो भाउ पाइन्छ भनेर गाउँगाउँबाट अलैँची उठाइयो अहिले भाउ घट्दा कसरी बाहिर ढुवानी गर्ने भन्ने दोधारमा छौँ।’  अलैँची व्यबसायी दिपेश भट्टराइले भने, ‘एक्कासी अलैँचीको भाउमा आएको भारी गिरावटपछि गोदाममा बोराकाबोरा अलैँची त्यतिकै थन्क्याउनुपर्ने समस्या छ।’

इलाममा वार्षिक ५ सय ७६ मेट्रिक टन अलैँची उत्पादन हुने कृषि ज्ञान केन्द्र इलामको तथ्यांकमा उल्लेख छ । १ हजार ६ सय हेक्टर क्षेत्रमा अलैँची लगाइएको भएपनि ढुसीजन्य रोगका कारण अलैँची वगान माँसिदै गएकाले पनि कृषकहरु चिन्तित भएका छन् । उत्पादन भए पनि अन्तर्राष्ट्रिय भाउमा आएको उतारचढाव र गुणस्तरीय अलैँची उत्पादन हुन नसक्नु जस्ता कारणले अलैँचीले राम्रो भाउ नपाइरहेको हाे ।

बादरले हैरान

उत्पादनमा आएको कमी एकातिर अर्कोतिर अलैँची कृषकलाई बाँदर आतंकले पनि सताएको छ। विशेष गरी खोलाबगरका क्षेत्रमा बाँदरले अलैँची सखाप पार्न थालेपछि कृषक चिन्तित बनेका हुन्। वर्षदिनसम्म गोडेको, मलजल, स्याहारसुसार गरेको अलैँची बाँदरले बगानमै आएर गुबोसहित खाने र बोटको बिचबाटै च्यातिदिने गरेकाले दुःख दिएको कृषकको गुनासो छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार