यसरी थाहा पाइन्छ आत्महत्याको संकेत

आत्महत्या तथा आत्महानीको सोच आएमा ११६६ डायल गर्नुस्

  नयाँ बुलन्द
147 Shares

इलाम : हरेक १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । विभिन्न परिस्थितिसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गरिने अवस्था आत्महत्या हो ।

आफ्ना समस्या तथा भावनाहरु पीडितले भन्न प्रयास गरिरहेका हुन सक्छन् त्यसैले उनीहरुको संकेत बुझिदिनुपर्छ । नजरअन्दाज गर्नुहुँदैन । उनीहरुको आनीबानी, व्यवहार र सोचलाई ध्यान पुर्‍याउन सकेको खण्डमा आत्महत्याको जोखिममा रहेको पहिचान गर्न सकिन्छ र समयमा बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष अन्दाजी ७ लाख व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गरेको तथ्यांक छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० व्यक्तिहरुको आत्महत्याबाट मृत्यु भएको थियो।

यदि कसैलाई आत्महत्याको सोच बारम्बार आइराख्छ भने, सामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या र अत्यधिक तनावको बेला आत्महत्याको सोच आउँछ भने ११६६ नम्बरको हेल्पलाइनको सेवा दिएको छ जुन २४ सै घण्टा उपलब्ध छ र निःशुल्क पनि छ । यसमा तपाईंका समस्याहरुलाई मनोपरामर्शकर्ताले हल गर्ने प्रयास गर्नेछन् ।

आत्महत्या तथा आत्महानीका व्यवहारिक संकेतहरु कस्तो हुन सक्छन् ?

  • निराश, असहाय, बेकार महसुस गर्ने,
  • एक्कासी धेरै खुसी हुने वा एक्कासी धेरै दुःखी हुने,
  • आफैंलाई हानी पुर्‍याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने,
  • मृत्युबारे कुरा गर्ने,
  • आत्महत्या गर्ने माध्यमहरु जस्तै विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरु खोजी गर्ने,
  • परिवार ,इष्ट मित्रहरुलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नुपूर्व आफ्ना कुरा र व्यवहारहरु सिलसिलाबद्ध रुपमा मिलाउने,
  • लागूपदार्थको अत्यधिक प्रयोग गर्ने

को हुन सक्छन् जोखिममा ?

  • पहिले आत्महत्या आत्महानीको प्रयास गरेका व्यक्तिहरु,
  • उदासिनता, लागूपदार्थको प्रयोग दुर्व्यसनी्लगायत मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु
  • गम्भीर भावनात्मक कठिनाइ भएका व्यक्तिहरु । जस्तैः नजिकको व्यक्ति गुमाएको, सम्बन्ध विच्छेद आदि,
  • दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु,
  • युद्ध, हिंसा, आघातजन्य घटना, समाजिक बहिष्कार अनुभव गरेका व्यक्तिहरु

आत्महत्याको सोच आएका व्यक्तिहरुलाई कसरी सहयोग गर्ने ?

  • आत्महत्या तथा आत्महानीको व्यवहारिक संकेतहरुलाई चिन्ने,
  • आत्महत्या सम्बन्धी सावधानी अपनाउने (साधनलाई टाढा राख्ने, ती व्यक्तिहरुसँग साथै रहने र एक्लै नछाड्ने, भावनाको कदर गर्ने, उनीहरुको कुरा सुनिदिने,
  • मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद् र तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहन गर्ने,
  • हेल्पलाइनको सहयोग लिने, लिन प्रोत्साहन गर्ने,
  • निरन्तर सम्पर्कमा रहिरहने र अवस्थाबारे जानकारी लिने,
  • कुनै पनि आत्महत्याको अभिव्यक्तिलाई गम्भीरताका साथ लिने र आत्महत्या तथा आत्महानीबारे खुलेर कुराकानी गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार