इलाम : जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति भएको इलाम अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शैयाको अस्पतालको रुपमा रहेको यस अस्पतालमा दरबन्दी अनुसार डाक्टर त छैनन् नै, भौगोलिक रुपमा पहाडी जिल्ला त्यसमा पनि सिमित क्षेत्र भएकाले पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन ।
डाक्टर आउने जाने क्रम निरन्तर
डा. पवन जंग रायमाझी २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनोका राम्रो मानिएका डाक्टर प्रभु शाह ०७६ साल कात्तिक ६ गते इलाम आए । शाह अहिले सम्म इलाम अस्पतालमै छन् । गाईनो कै डा. रक्षा पराजुली इलाम अस्पतालमा आइन् । उनी पनि लामे समय नबसी इलामबाट गईन । छोटो समयमा इलाममा राम्रै छाप छोडेकी पराजुली इलाम अस्पतालमा एक वर्ष मात्र टिकिन । ०७६ साल जेठ ३२ गते आएका डा. ससाङ्ख पोख्रेल आठ महिना पछि माघ २९ गते सरुवा भएर गए ।
०७६ साल कात्तिक ४ गते इलाम आएका एमडीजीपी डा. विष्रुत सापकोटा ०७८ फागुन २७ गते सरुवा भए । ०७७ जेठ २९ गते आएका एमबिबिएस डा. अनुज पोख्रेल ०७८ भदौ २ गते इलामबाट गए । मेडिकल अफिसरको रूपमा आएका डा. वैभव मल्लिव र मेडिकल अधिकृत शीतल श्रेष्ठ ०७६ सालमा आए पनि लामो समय इलाम बस्न सकेनन् । हाल विशेषज्ञ चिकित्सकको रूपमा डा. डालिन काफ्ले र डा. कमला कार्की कार्यरत छन् । त्यस्तै छात्रवृत्तिमा ०७८ साउन ३२ मा आएका डा. अजय खड्का, समिति मार्फत डा. सवीन चापागाईँ र कार्यक्रमबाट डा. आसुतोस पाण्डे कार्यरत रहे पनि उहाँहरू पनि कहिले हिँड्ने थाहा छैन । कार्यक्रमबाटै एमबिबिएस डा. रिन्कु शाह रहेकी छन् ।
सेवा नपाउदाकाे पिडा
विशेषज्ञ डाक्टर छोटो समय बस्ने ,जाने क्रम यहाँको नियति नै बनेको छ । डेन्टल सर्जनसहित १६ जना स्थाई डाक्टरको दरबन्दी रहेको अस्पतालमा कोही छैन्न । अहिले अस्पतालमा छात्रबृती कोटा ,कार्यक्रम मार्फत र अस्पताल समितिले राखेका केही डाक्टर बाट सेवा दिइरहेका छन् तर त्यो पनि पर्याप्त छैन । अस्पतालमा विशेषज्ञ तहका डाक्टर नहुँदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका छन् ।
अस्पतालमा ५९ दरबन्धी मध्ये हाल २५ जना कर्मचारी मात्रै रहेका छन् । भौगोलिक हिसाबले इलाम सुगम मानिए पनि स्वास्थको हिसाबमा अझै पनि दुर्गम जिल्लाकै रूपमा रहेको छ । दरबन्दीअनुसार डाक्टर नहुँदाको त पिडा छदै छ भएका एक जना गाइनोका डाक्टर पनि सेवा कालिन तालिम लिन जिल्ला बाहिर गएकाले उनले दिदै गरेको सेवा समेत केही दिन देखि ठप्प छ भने अस्पतालको भिडियो एक्सरे सेवा पनि बन्द अबस्थामा छ । अस्पतालमा भिडियो एक्सरे मेशिन प्रयोग गर्ने विशेषज्ञ नहुँदा बिरामी निजी मेडिकलमा पुगेर महङ्गो शुल्कमा सेवा लिन बाध्य छन् ।
जिल्ला सदरमुकाममा रहेकोे यस अस्पतालमा विशेषज्ञ डाक्टरकै अभावमा यहाँ आएका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ । यहाँ जिल्ला भित्रका मात्र नभएर छिमेकी जिल्ला पाँचथर ,ताप्लेजुङ्गबाट समेत यहाँ सेवा लिन आउने गरेका थिए । दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवा लिन उनीहरू झापा देखि राजधानी काठमाडौं लगायतका विभिन्न अस्पताल पुगिरहेका छन् । आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् ।
अस्पतालको भित्री ब्यथा
छात्र वृत्तिमा आएका डाक्टर दुई वर्ष बस्नुपर्ने हुन्छ तर इलाम अस्पतालमा छात्र वृत्तिमा आएका डाक्टर एक वर्ष नबित्दै जाने गर्दछन् । अस्पताल भित्रको काम गर्ने वातावरण राम्रो नभएका कारण डाक्टरहरू बस्न नमानेका हुन । काम गर्न आएका डाक्टरहरू पनि काम गर्ने क्रममा अस्पताल प्रमुख बाट नै असहयोग गर्ने प्रवृत्तिका कारण आएका डाक्टर बस्न नमान्ने गरेको अस्पतालका एक कर्मचारीले बताए । नाम नबताउने सर्तमा उनले भने ‘अस्पतालमा नयाँ आउने डाक्टरलाई अस्पताल प्रमुखले नै काम गर्न असहयोग गर्ने र कामको मूल्याङ्कन नगर्ने गरेको कारण पनि डाक्टर बस्न नमानेका हुन ।’ ‘अस्पतालमा भएका सामाग्री प्रयोगमा पनि अस्पताल प्रमुखले हस्तक्षेप गर्ने गरेको कारण पनि एक हाे कर्मचारीले भने, अस्पतालका लागि आवश्यक डाक्टर ल्याउन इलाम अस्पतालभित्रको काम गर्ने वातावरणका कारण यहाँ आउन समस्या देखिएको छ ।’ अस्पतालमा भिडियो एक्सरे भए पनि गर्भवती महिलाको मात्र हुने र अन्य एक्सरेका लागि मेडिकल पठाउने गरिन्छ ।
यता अस्पताल प्रमुख डा.प्रभु शाह काम गर्न समस्या भए कार्यालय प्रमुख सँग भन्नुपर्ने भन्दै सबैले आफ्नो आफ्नो काम गर्दा केही समस्या नहुने बताउँछन् । उनी भन्छन्,‘स्थायी डाक्टर नभए सम्म लामो समय सम्म बस्दैनन्, करारबाट आउने समय अवधि पश्चात् जाने पनि म्याद पुरा नभएसम्म कुनै डाक्टर पनि गएका छैनन्, बरु एक डेढ महिना थप गरेर राखेको भन्दै अहिले दुई जना करारका डा. मैले आफ्नै पहलमा राखेको छु उहाँहरू खुसीका साथ काम गरिरहनु भएको छ ।’ कसलाई असहयोग भएको हो त्यो थाहा छैन तर थप डाक्टर ल्याउनका लागि मेरो पहुँच पुगेको छैन, शाहले भने ‘म आफू नभएको बेला भिडियो एक्सरे भने अरूले हेर्नुहुन्न त्यसैले त्यसबाट भने असुविधा भएको हो ।’
घरदैलोमै स्वास्थ्य सेवा कहिले देखि पाउने ?
अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दो छ । दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । बीमाका कारण पनि दिनहुँ बिरामी सङ्ख्या बढ्दो छ । डाक्टरहरू साँझ बिहान निजी मेडिकलमा सेवा दिन पाउने गरी आफूलाई पायक पर्ने स्थानमा मात्र बस्ने प्रवृत्ति पनि समस्याको कारण रहेको सरोकारवाला बताउँछन् । हाल पचास शैयाको क्षमतामा सञ्चालित यस अस्पताल स्तरोन्नति भएपनि दरबन्दी अनुसारका डाक्टर नबसेका कारण भोलिका दिनमा पनि यहाँ नियमित रूपमा विशेषज्ञ डाक्टर बस्छन् र सेवा दिन्छन् भन्नेमा यहाँका आमनागरिक ढुक्क बन्न सकेका छैनन् । विसं २०३० सालमा पन्ध्र शैया बाट सेबा दिइरहेको अस्पतालले २०६१ सालमा २५ शैयामा स्तरोन्नति भएको थियो । २०७२ साउन बाट पचास शैयामा स्तरोन्नति भएपनि सो अनुसारको सुबिधा इलामे नागरिकले लिन सकिरहेका छैन्न ।