इलाममा चुनावी माहोल तात्तिदै, नयाँ नेतृत्वको पर्खाइमा इलामेली जनता

  नयाँ बुलन्द
154 Shares

इलाम । मंसिर ४ गते नजिकिंदै गर्दा इलाममा चुनावी माहोल पनि त्यतिकै तात्तिएकाे छ । इलाममा यतिबेला उम्मेदवारी दिनेको पनि होडबाजी नै चलेकाे छ । युवाहरु नयाँ उम्मेदवारीको कुरा गरी रहेकाछन् भने कोही भने विकास बुझेको नेताको खोजीमा रहेका छन् । केही उम्मेदवार भने मतदाता फकाउन घरदैलोमा पुगेर भोट मागिरहेका छन्।

कतिपय उम्मेदवार भने कसैलाई सुईको नदिई यतिबेला सुटुक्क घरगाउँ पसिरहेका छन् । कोहि भने बाजागाजासहित चोकचोकमा आफ्ना एजेण्डा सुनाई रहेका छन् । चुनावी प्रतिस्पर्धा त मत परिणामसँगै आउने नै छ । तर, यसपटक भोट मगाईमा कसको संख्या ठूलो देखिने भन्ने होडबाजी झै देखिन्छ । कुरा भन्दा पनि पुराना अनुहार नै दोहोरिन्छन् कि नयाँ पुस्तामा हस्तातरण हुन्छ भन्नेमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

इलामबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गर्दै आएका छन् । २०४८ सालको आम निर्वाचनदेखि लगातार ६ वटा निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाटै लड्दै आएका खनाल विगतका सबै निर्वाचन नेकपा एमालेबाट लडेका उनी यस पटक नयाँ दल नेकपा एकीकृत समाजवादीबाट लड्दैछन् ।

२०५६ यता इलाम क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका सवास नेम्वाङले यसअघिका अधिकांश चुनाव जित्दै आएका थिए । तर यसपटक भने यी दुवै हेभिवेट नेता आगामी चुनावमा त्यति सजिलै जित्नेमा ढुक्क छैनन् । सत्तारूढ गठबन्धन दल र एमालेका नेताहरू जिल्लाको अवस्था आफू अनुकूल रहेको दावी गरिरहँदा नेपाली कांग्रेस पनि इलामका दुवै क्षेत्रमा गठबन्धन धेरै बलियो रहेको भन्दै ढुक्क देखिन्छ ।

इलाम–२ मा नेम्वाङसँग प्रतिष्पर्धा गर्न गठबन्धनबाट कांग्रेसले उम्मेदवारी पाउने निश्चित छ । तर त्यस क्षेत्रमा अन्य दलको समेत उम्मेदवारको नाम घोषणा भइरहँदा स्वतन्त्र उम्मेदवारी दिनेको पनि तयारी तीव्र नै देखिन्छ । यता मतदाता निर्वाचनको मिति कुरिरहेका छन् । तर यस पटक नयाँ नेतृत्वको काँधमा जिम्मेवारी सुम्पिने होडमा रहेका उनीहरु विगत लामो समयसम्म एउटै अनुहारलाई जिताएर पठाए पनि इलामको विकासमा खासै चासो नदिएको गुनासो गर्दै आएका छन् ।

आफ्नो पार्टीको नाम र आफूले उम्मेदवारी दिएको पदमा भोट माग्दै नेताहरु घरघर आएपनि जितेपछि जनताको वास्तविक माग वा आवश्यकता के छन् भन्नेबारे खास चासो नदेखाउने गरेको उनीहरुको गुनासो छ । चुनावछेका दिएका प्रतिवद्धता पूरा गर्ने नसकेका कारण इलामका नागरिक चुनावी घोषणापत्र र भाषणमा मात्र विश्वास नगरि परिवर्तन भोगी नेतृत्वको खोजीमा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक सन्तोष पराजुली बताउनुहुन्छ ।

जिल्लामा अहिले अधिकांश मतदाताहरुको एउटै स्वर सुनिन्छ । चुनाव जितेर गएपछि फर्केर नआउने नेतालाई नो भोट । त्यसैले पनि आउदो निर्वाचन खनाल र नेम्वाङका लागि जिल्लामा आफ्नो प्रभाव नाप्ने अवसर बन्ने देखिन्छ भने नयाँका लागि पनि त्यति नै अवसर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार