इलाम । इलाममा १० वर्षअघि निर्माण भएको कोल्डस्टाेर प्रयोगबिहीन हुँदा कृषक मर्कामा परेका छन् । इलाम कृषि उत्पादनको लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट ल्याउनु पर्दैन् । तर इलाममा निर्माण भएको कोल्डस्टोर प्रयोगबिहीन हुँदा समस्या बढ्दै गएको छ ।
इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा इलाम नगरपालिका ९ सेरामा १० वर्ष अघि निर्माण भएको एउटै कोल्डस्टोर सञ्चालन नहुँदा यहाँ उत्पादित नगदेबाली विराटनगर लगेर भण्डारण गर्नुपर्ने समस्या रहेको छ । २ हजार टन क्षमताको कोल्डस्टोर निर्माण गरिएपनि प्रयोगबिहीन बन्दा अर्थन-बर्थ झै भएको छ ।
कोल्डस्टोर निर्माणको लागि भारत सरकारबाट ४ करोड ३९ लाख ३ हजार, नेपाल सरकारबाट ६७ लाख ५८ हजार रुपैयाँ र इलाम नगरपालिकाले ४३ लाख ५ हजार रुपैयाँ लगानी गरेको थियो । तर कोल्डस्टोर निर्माण भएर सञ्चालनमा नआउदा कृषकले उत्पादन गरेको अधिकांश तरकारी तथा फलफूल बारीमै कुहिएर जाने गरेको छ ।
यतिबेला इलामेलीहरु भारत र तराईका बजारबाट आयातित फलफूल तथा तरकारी उपभोग गर्न बाध्य भएका छन् । इलाममा किवीसहित विभिन्न किसिमका फलफूल र तरकारी उत्पादन हुने गरेको छ । तर निर्माण सम्पन्न कोल्ड भण्डार अहिलेसम्म प्रयोगबिहीन अवस्थामै छ । कोल्ड भण्डारको रेखदेखका लागि नगरपालिकाले एकजना चौकीदार राखेको छ । नगरपालिकाले शितभण्डार सञ्चालनका लागि पटक-पटक ठेक्का आवाह्न गरेको थियो । तर अझै संचालनमा आउन सकेको छैन् ।
अहिले यो सञ्चालनमा नआउदा त्यहाँ जडान गरिएका उपकरणमा समेत खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार साह कोल्डस्टोर एकप-टकमा एकै प्रकारका उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’ को भएकाले संचालन गर्न समस्या भएको बताउनुहुन्छ ।
यसरी राज्यको करोडौं रुपैयाँ लगानी गरेर निर्माण भएका यस्ता संरचना सञ्चालनमा नल्याउनु दुर्भाग्य हो । राजनीति स्वार्थका लागि संरचना बनाउन उद्घाटन, शिलन्यास गर्न तछाड-मछाड गर्ने तर, फेरी यस्ता संरचनाको बारेमा चासो नराख्दा कैयौं संरचना अलपत्र पर्ने गरेका छन् । त्यसैले यस्ता संरचनाको अवलोकन र निरीक्षण गरी त्यसलाई सञ्चालनमा ल्याउनु जरुरी देखिन्छ ।