विश्व समुदायमा आफ्नो संस्कृती, शभ्यता र पहिचान प्रति चेतनाको लहरमा आएको वृद्धि सँगै दुई ध्रुवीय शीत युद्धको अन्त्य पश्चात विश्व बहुध्रुवीय हुन पुगेको छ l प्रख्यात अमेरिकी राजनीतिक विश्लेषक Samuel P Huntington का अनुसार अब भविष्यमा हुने मानव द्वन्द बिगतमा भए जस्तो भूमिको कारण नभएर बिबिध संस्कृति र शभ्यताहरुको कारण हुनेछ अर्थात् भविष्यमा युद्धहरु बिगत दुई ध्रुवीय विश्वमा भएको जस्तो भूराजनैतिक (Geopolitical) युद्ध नभएर संस्कृतीहरु बीच हुनेछ l आज यसको ज्वलन्त उदाहरणको रुपमा वर्तमान रसिया र युक्रेन बीच भईरहेको युद्धलाई लिन सकिन्छ l पुर्व सोभियत संघको एक प्रमुख गणराज्यको रुपमा रहेको युक्रेन, रसियन संस्कृती र शभ्यताको निश्चित प्रभाव रहेको एक देश हो l एक लेखकले वर्तमान रसिया र युक्रेन बीच भईरहेको युद्धलाई भूमिको लडाईं नभएर Identity (पहिचान) र Status को युद्ध हो भनेर विचार व्यक्त गरेका छन् (David Brooks, The New York Times 2022; March 12,13) l शभ्यता र संस्कृतीको द्वन्द देशहरु बीच (International) मात्र नभएर एकै देशभित्र (Intranational) पनि हुने गर्दछ l आज संसारको बिभिन्न राष्ट्रहरुमा बिबादको रुपमा आएको बिबादित गर्भपतन सम्बन्धि कानून प्रष्ट रुपमा देखिने सांस्कृतीक द्वन्दको उदाहरण हो (Jonathan H Turner. Sept 1; 2005. Sociology) l सांस्कृतीक द्वन्दले युद्ध सम्म निम्त्याएको घटनाहरु पनि इतिहासका पानाहरुमा सुरक्षित छन् (Fellman M. April 19, 1990. Inside war: the guerrilla conflict in Missauri during the American civil war. Oxford University Press. P15) l
नेपालको सन्धर्भमा भन्ने हो भने, सबै अल्पसंख्यक जाती, भाषा र संस्कृतीको बिबिधता यो देशमा प्रष्टै सँग देख्न सकिन्छ l सबै अल्पसंख्यकहरुको बसोबास भएको नेपाल वास्तवमा बिबिध इतिहास र सभ्यताहरुको संगम पनि हो l अंग्रेजी शब्दलाई सापटी लिएर भन्ने हो भने बिबिध जाती, भाषा, संस्कृती, इतिहास र शभ्यताहरुको सम्मिश्रण भएको नेपाल एक Salad bowl हो l बिभिन्न काल खण्डमा भएका भाषिक र सांस्कृतिक द्वन्दहरु नेपालको इतिहासमा प्रष्ट सँग पढ्न सकिन्छ र यो द्वन्द निरन्तर रुपमा चलीरहेको छ l हालै प्रदेश नं १ को नामांकनलाई लिएर उठिरहेको विवाद, सतहमा नै देख्न सकिने यहाँको बिबिध भाषा, संस्कृति, इतिहास र शभ्यताहरु बिचको द्वन्दको उत्कृष्ट उदाहरण हो l सबै अल्पसंख्यकहरुको बसोबास गरि रहेको ठाउँमा अल्प संख्यक भईकन पनि राजनीति र राज्य संयन्त्रमा एकल खस आर्य पहिचानको वर्चश्वशाली उपस्थितिका कारण वर्तमान प्रदेश नं १ मा किराँत शभ्यता र लिम्बुवान इतिहासले आफ्नो अस्तित्व बोधको निमित्त आवाज उठाउँदा, लिम्बुवान किराँत पहिचान र खस आर्य पहिचान बीच द्वन्द सृजना भएको हो l खस आर्य समुदायका न्यायप्रेमी बौद्धिक व्यक्तित्वहरु र अभियन्ताहरु समेत लिम्बुवान किराँत पहिचानको जायज मुध्दामा अडिग हुनुहुन्छ (यस लेखमा पहिचान शब्द सँग जोडिएर समग्र रुपमा खस आर्य भन्ने शब्द प्रयोग गर्नु परेको हो) l वर्तमान प्रदेश नं १ मा नामांकनको निमित्त स्पष्ट रुपमा भाषा, संस्कृति, इतिहास र शभ्यताका आधारहरु हुँदा हुँदै पनि वर्तमान राजनीतिका कारण यी दुई पहिचानहरु बीच द्वन्द सृजना भएको छ l
सामाजिक विज्ञानको गुरु बिज्ञान मानिने राजनीतिको ठोश परिभाषा भने छैन l “The human being is a political animal”, “politics is the master science” भनेर राजनीति शास्त्रको पिता मानिने Aristotle ले प्राचिन समयमा नै मानव समाजमा राजनीतिको महत्व बारे प्रष्ट सँग भनि सकेका थिए l सबै राज्य व्यवस्था, शाशन पद्धती र सुशाशन कायम गर्ने भनेको राजनीति शास्त्र नै हो l सरकार र राज्य संचालन राजनीति बाट नै निर्धारित हुने गर्दछ l वर्तमान प्रदेश नं १ को नामांकन सम्बन्धमा देखा परेको संस्कृती र पहिचानको द्वन्द, बिशेष गरेर लिम्बुवान किराँत पहिचान र खस आर्य पहिचान बिचको द्वन्दलाई जायज रुपमा सम्बोधन गर्दै अन्तिम निर्णय गर्ने सन्धर्भ आफैंमा एक राजनीतिक बिषय बस्तु हो l त्यसो त नेपालका अन्य प्रदेशहरुमा पनि त्यहाँका आदिवासी/मुलबासी र जनजातीहरुले आफ्नो पहिचान स्थापनार्थ झिनो भए पनि केहि आवाज उठाएकै हुन् तर आदिवासी/मुलबासी र जनजातीहरुको राजनीतिमा पकड नभएका कारण एकल खस आर्य संस्कृति र भाषिक पहिचान झल्काउने; बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम आदि प्रदेशका नामहरु स्थापित भए l तत्कालिन प्रदेश नं २ भने अपवादको रुपमा रह्यो l मधेशी पहिचान र पहाडे खस आर्य पहिचान बिचको कडा द्वन्द माझ स्वभिमानी मधेशी जनताको दर्विलो राजनैतिक चेतनाका कारण मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश स्थापित हुन पुग्यो l
संख्यात्मक रुपमै हेर्ने हो भने आदिवासी/मुलबासी र जनजातीहरु नेपालको सबै भन्दा ठूलो समुदाय हो र नेपालको हरेक राजनैतिक घटना क्रमहरुमा उनीहरुको उपस्थिति ज्यादै महत्वपूर्ण छ तर नेपालको इतिहासमा आज सम्म कुनै पनि राजनैतिक घटनाहरुमा आदिवासी/मुलबासी र जनजातीहरुले निर्णयकारी भूमिका निभाउन सकेका छैनन् l नेपालका प्रत्येक राजनैतिक पार्टीहरुमा आदिवासी/मुलबासी र जनजातीहरुको सहभागिता संख्यात्मक रुपमा राम्रै छ तर निर्णयकारी भूमिकामा उपस्थिति प्राय सुन्य भएकोले यस देशमा हुने महत्वपूर्ण निर्णयहरु; देश निर्माणका ठूला ठूला परियोजनाहरु, राज्य सँग सम्बन्धित नागरिकता सम्बन्धि ऐन कानुनहरु, देशको मूल कानून, राज्य संचालन, अर्थनीति, परराष्ट्र नीति आदिमा यहाँका आदिवासी/मुलबासी र जनजातीहरुको दृष्टिकोणबाट कुनै निर्णयकारी भूमिका रहँदैन न त संघीय नेपालको प्रदेशहरु निर्धारण गर्दा यहाँका आदिवासी/मुलबासी र जनजातीहरुले सशक्त र प्रभावकारी रुपमा आफ्नो चाहना र दृष्टिकोण व्यक्त गर्न सके l विश्वको कुनै देशमा थोरै संख्यामा रहेका आदिवासीहरुको जस्तो स्थिति नभएर नेपालमा आदिवासीहरुको उपस्थिति संख्यात्मक हिसाबले सबैभन्दा ठूलो समुदाय हो l यति ठूलो संख्यामा रहेका नेपालका आदिवासीहरु वर्तमान बर्चश्वशाली राजनीति लगायत राज्यका तीनै अंगहरु, कर्मचारीतन्त्र, संचार जगत (Media), सामाजिक र पेशागत संजालहरु आदिमा प्राय सिमित संख्यामा मात्र रहनु र अझ निर्णयकारी भूमिकामा उपस्थिति प्राय सून्य हुनु आफैंमा एक गहन अध्ययन र विश्लेषणको बिषय हो l
राजनीतिमा सिद्धान्त र विचारधारा (Ideology) को हवाला दिए पनि व्यवहारिकता (Pragmatism) को स्थान महत्वपूर्ण रहेको कुरा विश्व राजनीतिमा व्यवहारिक रुपमै पुष्टि भइसकेको छ (Drhimeur A. The party of justice and development’s pragmatic politics. Rice University Baker Institute for public policy. Issue brief; 05.31.18), (Dr Patrick Keelan. To be principled or pragmatic: that is the question. Call Dr Pat(403) 324-1875) l बिभिन्न राजनैतिक पार्टीहरु बीच चुनाव जित्न निर्माण हुने मोर्चा बन्दि, सरकार बनाउन निर्माण हुने गठ बन्धन आदि राजनैतिक व्यवहारिकता (Political pragmatism) को सिद्धान्त अवलम्बन बाट नै भएको हो किनकि यसले बढि परिणाम सँग सम्बन्ध राख्तछ यहाँ विचारधारा (Ideology) साथै किन र कसरि भन्ने प्रश्न गौण हुन्छ (Rosanti R.(2020),Political pragmatism in Indonesia. Jurnal Bina Praja, 12(2),153-165.) l “बिरालो सेतो भए पनि कालो भए पनि मुसा मर्ने बिरालो असल बिरालो हो”(It doesn’t matters whather a cat is black or white, if it catches a mice, it is a good cat – Deng Xiao Ping) भन्ने चिनिया नेता तङ स्याओ फिङको भनाईबाट राजनैतिक व्यवहारिकतालाई अझ प्रष्ट सँग बुझ्न सकिन्छ l राजनैतिक निर्वाचनहरुमा व्यवहारिकताको (Pragmatism) असर मतदान परिणामहरुमा प्रष्टै सँग देख्न सकिन्छ l निर्वाचनमा निकै असर राख्ने, व्यक्तिलाई हेरेर दिईने मत यसको प्रष्ट उदाहरण हो l सबै नेपाली मतदाता हरुलाई प्रत्येक राजनैतिक पार्टीहरुको सिद्धान्त एक एक गरेर थाहा कसरि हुन सक्छ ? अक्सिजन सिलिन्डर सहित मतदान केन्द्रमा पुग्ने ९६ बर्षीय र नातिको पिठ्युँमा मतदान केन्द्र पुग्ने ९० बर्षियाहरुले पार्टीको सिद्धान्त याद गरेका होलान र ? हालै सम्पन्न आदिवासी बौद्धिक बहस समूहको Zoom meeting मा भरखरै मात्र सकिएको स्थानीय निकायको निर्वाचन परिणाममा व्यवहारिक राजनीति (Pragmatic politics) को प्रभाव र असरहरु बारे राम्रै सँग छलफल र बहस भएको थियो l
निर्वाचन परिणामहरुलाई हेर्दा, राजनीतिमा व्यवहारिकता (Pragmatism) लाई समेटेर नेपालका सत्तासिन राजनैतिक पार्टीहरुले तुलनात्मक रुपमा राम्रै सँग जनमत सृजना गरेको देखिन्छ l राज्य सँग भौतिक र मानसिक (संचार, कानून, शिक्षा ····· आदि) दुवै किसिमको श्रोत र साधन उपयोग गर्ने सुबिधा हुन्छ l गाँस, बास र कपास आधारभूत आवश्यकता भएको मानिसलाई स्वाभाविक रुपमै राज्य संयन्त्रको सामिप्याताले बढि व्यवहारिक समस्याहरु समाधान गर्दछ l दर्शन र सिद्धान्तले मात्र घरको चूलो बल्दैन l “An empty stomach is not a good political advosor” भन्दै विश्वविख्यात बैज्ञानिक एल्बर्ट आइन्सटाईन समेत यो विचारधारामा सहमत देखिन्छन् l मेरो बाबु बाजे लागेको पार्टी, फलानो मेरो नातेदार, यो पार्टीले मेरो धेरै व्यवहारिक कुराहरु समाधान गरिदिएको छ, यो पार्टीमा लागेँ भने मेरो व्यक्तिगत भलाई हुन्छ म ?ठूलो मान्छे बन्न सक्छु (जबकी भाषिक, सांस्कृतिक, इतिहास र शभ्यताको पहिचान भनेको सामुहिक हो) भन्दै नेपालका आदिवासी/मुलबासी र जनजातीहरु बिभिन्न पार्टीहरुमा आवद्ध रहनु र मतदान गर्नु राजनैतिक व्यवहारिकता (Political pragmatism) को एक असल उदाहरण हो l बढि सिद्धान्त र आदर्शको हवाला दिँदै राजनीति गर्छु भन्ने व्यक्तिहरुले समय समयमा राजनैतिक पार्टीहरु बदलि रहनु आदिमा व्यवहारिकताको कारण होइन भनेर भन्न सकिँदैन l राज्यमा आफ्नो भाषा, संस्कृती, इतिहास र शभ्यता स्थापित भईसकेको राष्ट्र समुदायको व्यक्तिले जति सुकै पार्टीहरु बदले पनि राज्यमा उस्को प्रभुत्त्वशाली पहिचान कायमै रहन्छ तर राज्यमा आफ्नो पहिचान स्थापित नभएको व्यक्तिले पार्टीहरु परिवर्तन गरेमा केहि व्यक्तिगत लाभ होला तर समग्र रुपमा आफ्नो भाषा, संस्कृति, इतिहास र शाभ्यताको पहिचान स्थापनामा कुनै योगदान पुग्न सक्तैन बरु झनै क्षति हुन सक्तछ l
नेपालमा आदिवासी/मुलबासी र जनजातीहरुको पहिचान स्थापनार्थ सैद्धान्तिक रणनीति लिएका राजनैतिक पार्टीहरुले अवलम्बन गर्न नसकेको व्यवहारिक राजनीति (कर्मचारीतन्त्र, व्यवशायिक पेशागत संजालहरु साथै अन्य दैनिक जीविकोपार्जन सँग सम्बन्ध राख्ने संघ संस्थाहरु आदिमा पकड नहुनु) लाई आदिवासी/मुलबासी र जनजातीहरुको पहिचान प्रति कुनै पनि सैद्धान्तिक रणनीति नभएका पार्टीहरुले अवलम्बन गरेर आदिवासी/मुलबासी र जनजातीहरुलाई राम्रै सँग आकर्षित गरिरहेका कुरा बिगतमा भएका निर्वाचनको मत परिणामहरुले पुष्टि गर्न सकिन्छ l वर्तमान अवस्थामा नेपालका आदिवासी/मुलबासी र जनजातीहरु आफ्नो भाषा, संस्कृती र रितीरिवाज प्रति सचेत नै छन् तर राजनैतिक रुपमा विभाजित छन् l वर्तमान अवस्थामा बिभिन्न राजनैतिक पार्टीहरुबाट निर्वाचित आदिवासी/मुलबासी र जनजाती जन प्रतिनिधीहरु राजनैतिक रुपमा आफ्नो भाषा, संस्कृती, इतिहास र शाभ्यताको पहिचानलाई, पार्टीको निर्देशन बिपरित, स्थापित गर्न सक्ने सामर्थ्यमा छैनन् l राजनीति र राज्यमा पकड हुने वर्चश्वशाली समुदायले आफ्नो संस्कृती अनुकूल नियम कानून बनाउँछ र आफ्नो पहिचान प्रतिकूल हुने संस्कृतीको निषेध गर्न लाग्दछ भन्ने अध्येताहरुको विश्लेषण (Source: Quora.com) सही छ l आज सामाजिक संजालहरुमा आएका भाषिक बिबेधका उदाहरणहरु, संस्कृती, रितीरिवाज र परम्परागत प्रचलनहरुमा राज्यबाट गरिने बिभेदहरु आदि खस आर्य पहिचान र अन्य आदिवासी/मुलबासी र जनजातीहरुको पहिचान बिचको द्वन्दको ज्वलन्त उदाहरणहरु हुन् l नेपालका आदिवासी/मुलबासी र जनजातीहरुले राजनीतिमा पकड बेगर राज्यमा आफ्नो पहिचान स्थापना गर्छु भन्नु हावामा महल बनाउँछु भने जस्तै हो l आफ्नो शभ्यता, इतिहास, संस्कृती, रितीरिवाज र चाड पर्वहरुलाई प्रदर्शनीको बस्तु मात्र बनाउने, मनोरंजनात्मक सांस्कृतिक झाँकीहरु मात्र प्रस्तुत गरिरहने र दिवस र चाड पर्वको रुपमा रमाइलो भेटघाटको माध्यम मात्र बनाउने तर राजनीति र मौलिक पहिचान बिचको सम्बन्धलाई नबुझ्ने वा बुझ्न नचाहने हो भने यहाँका आदिवासी/मुलबासी र जनजातीहरुले इतिहासमा मूल्य चुकाऊँदै जानु पर्ने हुन्छ l