काठमाडौं । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ । विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन थालेको हो ।
सरकारका दुई मन्त्री र महान्यायाधिवक्ताले एकसाथ पत्रकार सम्मेलन गरेर चन्द नेतृत्वको नेकपाले राखेका मागको सम्बोधनका क्रममा विगतको सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका बेला नेकपाले त्यसलाई बहिष्कार गर्ने चर्चा चलाइरहेको छ ।
त्यसैले सोमबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले चन्द नेतृत्वको नेकपा र २०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयनमा कुनै पनि शंका–उपशंका नभएको र सरकारले चाहेर पनि फिर्ता लिन नसक्ने मुद्दाबाहेक सबै मुद्दा फिर्ता हुने चरणमा रहेको बताएका हुन् ।