झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनु भएको छ ।
उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो । शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताउनुभयो ।
परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरी पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उहाँले दावी गर्नुभयो ।
झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उहाँकाे भनाइ छ ।
विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जति सक्दो योगदान दिन इन्जिनियरहरूलाई उहाँले आग्रह समेत गर्नुभयाे ।