काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (बुधबार) बिहान प्रदेश-१ का पहाडी भू-भागमा पूर्णरुपमा बदली रहेको छ । त्यस्तै, देशका अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ ।
साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने प्रदेश-१ मा सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
बुधबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका अन्य भू-भागमा आंशिक बदली हुने भएको छ । साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।