पाँचथर । पूर्वीपहाडी जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी बमोजिमका कर्मचारी नहुँदा सेवा प्रवाह गर्न समस्या भएको छ ।
तोकिएको दरबन्दी भन्दा करिब ५० प्रतिशतको हाराहारीमा रहेका कर्मचारीले मात्रै अहिले सेवा दिइरहँदा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । कृषि ज्ञान केन्द्र फिदिम पाँचथरमा अहिले तोकिएको भन्दा आधा मात्रै कर्मचारीहरूले सेवा प्रवाह गर्दा छिटो, छरितो र चुस्तदुरुस्त ढंगबाट सेवा दिन नसकिएको कार्यालय प्रमुख शालिकराम भट्टराईले बताउनुभयाे ।
कृषि ज्ञान केन्द्र पाँचथरमा मात्रै अहिले १५ जना र कृषि ज्ञान ताप्लेजुङको सम्पर्क कार्यालयमा ८ जना कर्मचारीको दरबन्दी भएपनि अहिले १२ जना कर्मचारीले मात्रै सेवा प्रवाह दिइरहेका छन् । जम्मा दुवै जिल्लामा गरेर ७ जना मात्रै प्राविधिक रहेका छन् । जसमध्ये पाँचथरमा ४ जना र ताप्लेजुङमा ३ जना मात्रै प्राविधिक कर्मचारी कार्यरत रहेका छन् । कृषि ज्ञान केन्द्र फिदिम पाँचथरले पाँचथर र ताप्लेजुङ दुवै जिल्ला हेर्दै आएको छ ।
लेखा अधिकृत छैटौ, स्टोर किपर र प्रशासन शाखामा नायव सुब्बाको कर्मचारी नहुँदा सेवाग्राहीलाई भनेको समयमा सेवा प्रवाह गर्न नसकिएको उहाँले बताउनुभयो । कार्यालयकै लेखाशाखामा कर्मचारी नहुँदा सेवा प्रवाहमा मुख्य समस्या परेको कार्यालयले जनाएको छ । पटक-पटक प्रदेश लेखा इकाई कार्यालयमा ताकेदा गर्दा पनि लेखा शाखामा कर्मचारी आउन नसकेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।
२ सय ५२ वटा योजना संचालन भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा ४३ वटा योजनाको काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७८/०७९ को समयमा योजना तथा कार्यक्रमहरू आउन नसक्नु, स्थानीय तहको निर्वाचन र कार्यालयको आफ्नै लेखा शाखामा कर्मचारी नहुनु लगायतका कारण गत असार मसान्तमा पनि भुक्तानी गर्न नसक्दा १ करोड १६ लाख २४ हजार रूपैयाँ रकम आर्थिक वर्ष २०७९/८० मा दिन लागिएको कार्यालयले जनाएको छ ।
प्रदेश-१ का प्राय अधिकांश ज्ञान केन्द्रमा कर्मचारी अभाव रहेको पाइएको छ ।