२७ बर्षपछि इलामबाट एमाले विदा हुँदैछ : डम्बर खड्का

  नयाँ बुलन्द
5.7k Shares


काठमाडौं : नेपाली कांग्रेसका इलाम सभापति डम्बर खड्काले आसन्न निर्वाचनमा एमाले उम्मेदवार परास्त हुने दावी गरेका छन् ।

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति खड्काले सिन्को पनि नभाच्ने एमाले उम्मेदवार २७ बषैपछि यस पटक सँधैका लागि विदा हुने दावी गरे ।

सभापति खड्काले एमालेबाट प्रतिनिधित्व गर्दै पटक पटक विजयी भएका सुभाषचन्द्र नेम्वाङले सिन्को भाँच्न नसकेको आरोप लगाए । ‘अहिले इलाममा कांग्रेस बलियो भएर आएको छ । नेम्वाङ दुब्लो भइसके ।

यस पटक इलामेली जनताले उनलाई विदाइ गर्नेछन् र कांग्रेसका उम्मेदवार भारी मतले विजयी हुनेछन्,’उनले भने,‘२७ बर्षको अवधीमा एमालले जिल्लामा कुनै पनि राष्ट्रिय योजना ल्याउन सकेन । पाँच वटा पनि योजना रातो किताबमा राख्न सकेन । आउँदो निर्वाचनमा कांग्रेसले विजयको झन्डा फहराउने छ । यसका लागि सबै लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ ।’

मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका आकांक्षी समेत रहेका खड्काले गएको स्थानीय तह निर्वाचनमा कांग्रेसका बहुसंख्यक उम्मेदवार विजयी भएकाले संगठन बलियो हुँदै गएको बताए । उनले कांग्रेसका जोसुकै उम्मेदवारले जित्छु भन्ने दम्भ र विश्वास राख्नुपर्ने पनि बताए ।

उनले भने,‘टिकट पाउने जोसुकै उम्मेदवारलाई पराजित हुने छुट छैन । २७ बर्षपछि एमाले परास्त हुने दिन नजिकिएको छ ।’
सरकारमा रहेका मन्त्रीहरुले भरपर्दो रुपमा जनताको काम नगरेको गुनासो गर्दै उनले इलाममा उत्पादन हुने चिया, अदुवा, अलैंची जस्ता कृषिजन्य बस्तु निर्यातमा भारत सरकारले पटक पटक दुःख दिंदा पनि सरकाले चासो नदिएको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियार, कांग्रेस इलाम सभापति डम्बर खड्का, उपसभापति खगेन्द्र देवान, पूर्वसभापति केशव थापा, प्राध्यापक याम कार्की, महाधिवेशन प्रतिनिधि राजु कार्की, विद्यार्थी नेता पुजन चाम्लिङ, कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार