एकै दिन १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आर्थिक वर्ष २०७६÷७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले मुद्दा दायर गरेकामा तत्कालीन सब–इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् । मुद्दा दायर गरेका उनीहरूसँग जनही ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ ५० पैसा बिगो दाबी गरिएको छ ।

त्यस्तै, हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टंकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार मुद्दा दायर गरिएका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरूले २१ लाख ४७ हजार ४ सय ९२ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ । ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम गरेको देखाइ झुट्टा बिल बनाएर सरकारी रकम हिनामिना गरेको अख्तियारको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार