इलाम : इलाममा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट तीन हजार सात सय ९८ जनाले राहदानी लिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा इलाममामा राहदानी लिनेको संख्या दुई हजार ४५ रहेको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादब राउतका अनुसार विगतका वर्षहरुमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले राहदानी लिनेको संख्या झन्डै दोब्बरले बढेको हो । राउतका अनुसार इलाममा गएको फागुन महिनाबाट ई-पासपोर्ट बनाउन सुरु भएको छ । हालसम्म ई-पासपोर्ट दुई हजार तीन सय ४८ जनाले लिएकाे समेत राउतले बताउनुभयो । उहाँका अनुसार पास्पोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको पाइएको र रोजगारी भन्दा पनि अध्ययनका लागि जापान,अस्ट्रेलिया लगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाईएको छ ।
यस्तै २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजको आधारमा नागरिकता लिनेको संख्या दश हजार सात सय ७१ रहेको छ । जिल्लाको इलाका प्रशासन कार्यालय र सिमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट दुई हजार सात सय ६२ जनाले नागरिकता लिएका छन् । उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन इलाम, इलाका प्रशासन कार्यलय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनै वटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या ७ हजार पाँच सय २३ रहेको छ भने बैबाहिक अङ्गीकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् ।