श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या !

शंकाले निम्त्याएको विभत्स घटना

  सुवास गाेतामे
147 Shares

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार एकै परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, पाण्डे दम्पतिका १३ वर्षीया छोरी आशिका र आठ वर्षीय छोरा आशिक छन् । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङ घर भई पदमसालमा पाण्डेको परिवार बसोबास गर्दै आएको थियो । सोमबार बिहान ८ बजे पाण्डेकी छोरी आशिका सैनिक विद्यालयको बस आइपुग्दा पनि घर बाहिर ननिस्किएपछि घटना सार्वजनिक भएको थियो ।

आशिका सैनिक विद्यालयमा कक्षा पाँचमा अध्ययन गर्थिन् । प्रहरीका अनुसार स्थानीयले ढोका ढक्ढक्याउँदा नखोलेपछि प्रहरीलाई सूचना दिएका थिए । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र बालाजु वृत्तको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पाण्डेले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आपूmले आत्महत्या गरेको प्रारम्भिक आशंका छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार घटनास्थलमा आशिक र आशिकाको शव खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनीहरू सबैको शरीरमा धारिलो हतियारले प्रहार गरेको चोट देखिएको छ । पाण्डेको शव भने घोप्टो परेको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार, उनको घाँटीमा तारले कसेको र पेटमा छुराले प्रहार गरेको जस्तो चोट देखिन्छ ।

स्थानीयवासी लक्ष्मण ढकालका अनुसार ४१ वर्षीय पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर चार वर्षअघि स्वदेश फर्किएका थिए । पाण्डेकी ३९ वर्षीया श्रीमती सुनिता भने घर नजिकै पसल चलाएर बस्दै आएकी थिइन् ।

ढकालका अनुसार पाण्डे दम्पतीको बेलाबखत झैझगडा भइरहन्थ्यो । दुई जनाको झगडा प्रहरीसम्म पुगेपछि बालाजु वृत्तमा मिलापत्रसमेत भएको थियो । पाण्डेले सुनितासँग सम्बन्ध विच्छेद गर्न चाहेका थिए । बालबच्चाको मायाले सुनिताले भने सम्बन्ध विच्छेद गर्न मानेकी थिइनन् ।

पछिल्लो पटक दिनेशले घर बिक्री गर्न १० लाख रुपैयाँ बैनासमेत लिएका थिए । तर, सुनिताले रोकेकी थिइन् । घर सुनिताकै नाममा थियो । बेलायतको सिजनल भिसा लागेपछि सुनिताले मेगा ड्रिम सहकारीमा राखेको रकमसमेत झिकेर खाता बन्द गराएको स्थानीय बताउँछन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, यो घटना पारिवारिक कलहबाट सिर्जित भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । ‘पाण्डे विदेशबाट फर्किएलगत्तै परिवारमा खटपट सुरु हुनु, सुनिता बेलायत जान खोज्दा पाण्डेले मन नपराउनु र प्रहरीमा समेत पटकपटक विवाद पुग्नुले पारिवारिक कलह थियो भन्ने पुष्टी हुन्छ,’ ती अधिकृतले भने, ‘घटनास्थलमा सुसाइट नोट पनि भेटिएको र त्यसमा पाण्डेले पारिवारिक कलहकै कुरा विस्तारमा लेखेको पाइएको छ । यद्यपि, घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

प्रहरीले घटनास्थलबाट फेला पारेको सुसाइट नोटमा पाण्डेले श्रीमती सुनिता र उनको माइती पक्षलाई दोषी देखाएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पाण्डेले नोटमा लेखेका छन्, ‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सबै सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे । मेरो सम्पत्ति हडप्न खोजिरहे र मलाई पटकपटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ ।’

लामो सुसाइट नोटमा पाण्डेले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे लेखेका छन्, ‘मेरा बच्चाबच्चीको धेरै माया लाग्छ, त्यही मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नुपरेको हो ।’ पाण्डेले नोटमा सुनिताको परपुरुषसँग सम्बन्ध रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सुनिताले घण्टौँसम्म परपुरुषसँग फोनमा गफ गर्थिन्, शौचालय जाँदासमेत फोनमा लामो समय कुरा गर्थिन्, सोध्दा मलाई नै हप्कीदप्की गर्थिन् ।’

एसपी मैनालीले प्रारम्भीक अनुसन्धानमा पाण्डेले नै श्रीमती र छोराछोरीको हत्या गरेर पछि आपूmले पनि आत्महत्या गरेको देखिन्छ । तर, पोस्टमार्टमको रिर्पोट आएपछि मात्र थप रहस्य खुल्ने जानकारी एसपी मैनालीले दिए ।

‘घटनास्थलको मुचुल्का, स्थानीयवासीको भनाइ, पाण्डेको सुसाइट नोट र घटनाको प्रकृति हेर्दा पाण्डेले नै पहिला श्रीमती र छोराछोरीको हत्या गरी पछि आपूmले आत्महत्या गरेजस्तो देखिन्छ,’ उनले भने, ‘तर पोस्टमार्टमको रिर्पोट आएपछि थप रहस्य खुल्छ । हामी अनुसन्धानमै छौँ ।’ प्रहरीले घटनास्थलबाट धारिलो चक्कुसमेत बरामद गरेको छ । मृतक चारै जनाको शव प्रहरीले पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको आजको सौर्य दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार