हुलाक कुरियर र वित्तीय कारोवारमा केन्द्रित हुँदै

काठमाडौं : कुनै समय सूचना तथा सञ्चारको सिंगो प्रतिनिधित्व गर्ने हुलाक यतिबेला आफूलाई समयानुकूल परिवर्तन तरखरमा छ । हुलाकले दिने पोष्ट बक्स नम्बर लिन मरिहत्ते गर्नुपर्ने, ग्राहकको भीडले पाइला राख्ने ठाउँ नहुने समय गुजारेको हुलाक अहिले कार्यक्षेत्र विस्तार गरेर कुरियर र वित्तीय कारोवारमा केन्द्रित हुँदै आएको छ । तर, व्यवस्थापकीय चाँजोपाँजो नमिल्दा उसले दिने सेवाप्रति उपभोक्ताको भरोसा बटुल्न सकेको छैन ।

उपभोक्ताहरूको सामाजिक सञ्जालमा बढ्दो रुचि, चिठीपत्रमा निजीक्षेत्रको उपस्थिति बाक्लिएपछि हुलाकको कार्यक्षेत्र खुम्चिँदै गयो  निजीक्षेत्रको तुलनामा न्यून शुल्कमा हुलाकले सामान लाने ल्याउने गरे पनि प्रचारप्रसारको अभावमा धेरै उपभोक्ता हुलाकबारे बेखबर भएकाले कम प्रयोग भएको हुलाक विभागका महानिर्देशक इन्दु शर्मा बताउनुहुन्छ ।

समयसापेक्ष हुलाकको कार्यशैलीमा सुधार ल्याउन सरकारले पटक–पटक कार्यदल नबनाएको होइन । तर, राजनीतिक इच्छाशक्ति कमजोर हुँदा हुलाकको गति कछुवा गतिमै सीमित छ ।

विश्व हुलाक संघको सदस्यता लिएका मुलुकमध्ये नेपाली हुलाकको अवस्था निकै कमजोर देखिन्छ । समय अनुसार प्रतिस्पर्धा गर्न नसक्दा हुलाक सेवाप्रति आम मानिसको चासो घट्दै गएको हो ।

लकडाउनपछि उडान नियमित भएसँगै निजी कुरियर कम्पनीले सामान पठाउन सुरु गरे पनि हुलाकले निरन्तरता दिन नसकेको महानिर्देशक शर्माको भनाइ छ ।

हुलाक सेवा विभाग मातहत चारवटा महत्वपूर्ण कार्यालय छन् । यीमध्ये एउटा गोश्वारा हुलाक कार्यालय हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन एवं हुलाक बचत बैङ्कको व्यवस्थापन गर्छ ।

केन्द्रीय धनादेश कार्यालय, जसलाई हुलाक विभागको सम्पूर्ण आर्थिक सेवासँग सम्बन्धित कार्य र धनादेश सेवाको केन्द्रीय हिसाब राख्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, हुलाक टिकट डिजाइन, छपाई, वितरण लगायतका जिम्मेवारी पाएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय छ । काठमाडौंको हुलाक गोश्वारा कार्यालय अन्तर्गत देशका ७७ वटै जिल्लामा हुलाकको पहुँच छ ।

हुलाक गोश्वारा कार्यालयमा रहेका १९ हजार ७ सय २५ वटा पोष्ट बक्स मध्ये ६ हजार ९ वटा पोष्ट बक्स अझै सञ्चालनमा रहेको गोश्वारा हुलाकका अधिकृत विष्णु अधिकारी बताउनुहुन्छ । तीमध्ये धेरैजसो अझै पनि नविकरण भइरहेको उहाँको भनाइ छ ।

समयअनुसार प्रचारप्रचार र प्रतिस्पर्धामा लैजान सके निजीक्षेत्र भन्दा धेरै सस्तोसेवाले उपभोक्ताले सुविधा पाउँथे नै, हुलाकको पनि साख जोगिन्थ्यो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार