काठमाडौं : आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा उनीनै नियुक्त हुने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
अर्थमन्त्रीमा नियुक्त भएपछि शर्माले आजै शपथ लिने तयारी छ भएको बुझिएको छ । अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।
तर, यसबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो । संसदीय विशेष समितिले छानविनको क्रममा कुनै प्रमाण फेला नपारेपछि शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका हुन् ।