काठमाडौं : नेपालमा उच्च आयात र व्यापार घाटा चुलिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष (आ.व) ०७८/७९ को तथ्यांकअनुसार नेपालमा बजेटको आकारभन्दा धेरै आयात भएको छ ।
गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रूपैयाँबराबरको आयात भएको थियो । गत आवको तुलनामा यो आवमा २४.७२ प्रतिशतले आयात वृद्धि भएको छ ।
२ खर्बको निर्यात
आयातको तुलानमा नेपालमा निर्यात भने निकै न्यून मात्रामा हुने गरेको पाइएको छ । विभागको तथ्यांकअनुसार एक वर्षमा १९ खर्बको आयात हुँदा निर्यात भने २ खर्ब ३ करोड ९ लाख रूपैयाँको मात्रै भएको छ ।
गत आवको सोही अवधिमा १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखको वस्तु निर्यात भएको थियो । गत आवको तुलानमा यस आवमा ४१ प्रतिशतले निर्यात वृद्धि भएको हो ।
तथ्यांकमा पाँच वर्षको निर्यात अवस्था
१७ खर्बको व्यापारघाटा
एक वर्षमा नेपालको व्यापारघाटा १७ खर्ब रूपैयाँ नाघेको छ । विभागको तथ्यांकअनुसार १२ महिनाको अवधिमा नेपालको व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ८३ लाख पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रूपैयाँ बराबरको व्यापार घाटा थियो । गत आवको तुलनामा यस आवमा व्यापार घाटा २३ प्रतिशतले बढेको हो ।
विगत पाँच वर्षको व्यापार घाटाको अवस्थासबैभन्दा बढी व्यापार घाटा भारतसँग
नेपालले १७१ देशसँग व्यापार गर्दै आएको छ । यीमध्ये १४५ देशसँग नेपालको व्यापार घाटा छ । बाँकी २६ देशसँग भने नेपालको व्यापार नाफाको छ ।
भारत र चीनसँग नेपालको व्यापार घाटा धेरै छ । १२ महिनाको तथ्यांकअनुसार भारतसँग नेपालको व्यापार घाटा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रूपैयाँ छ । सोही अवधिमा नेपालले भारतमा १ खर्ब ५५ अर्ब २२ करोड २३ लाखको निर्यात गरेको छ ।
चीनसँग नेपालको व्यापारघाटा २ खर्ब ६७ अर्ब ९४ करोड ५४ लाख रूपैयाँ पुगेको छ । यो अवधिमा नेपालबाट चीनतर्फ मात्रै ९६ करोड ३१ लाखको सामान निर्यात भएको छ ।
इन्डोनेसिायसँग ५३ अर्ब २४ करोड ९७ लाख, अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड २२ लाख, अष्ट्रेलियासँग २३ अर्ब ३४ करोड, जर्मनीसँग ४ अर्ब १९ करोड ९२ लाख र जापानसँग नेपालको एक अर्ब ११ करोड रूपैयाँ व्यापार घाटा छ ।