कवि: जयनारायण भट्टराई
हाम्रो दुर्गम गाउँका विषयमा चिन्ता र चासो लिने
शिक्षा ज्ञान विवेकले अनुजमा सन्देश दर्शाउने
नेपाली पनका पवित्र गुणका सद्भावका द्योतक
भाषा सीप कला अनन्त प्रतिभा साहित्यका साधक
प्रस्तोता इतिहासका प्रकृतिका व्यक्तित्व सामाजिक
सामन्ती युगका अनेक कटुता भोगाइ छन् मार्मिक
पढ्ने ठाउँ कतै थिएन पहिले धाएर विद्यालय
पढ्नै पर्छ भनी वनारस गए काँशी र देवालय
कैयौं छन् मनमा अविस्मरणका मष्तिष्कमा वेदना
रोकिन्थे सहजै बुझेर तिनका आवेग उत्तेजना
आफ्नो काम सबै सकेर घरमा सेता सफा भेषमा
जाने मन्दिरमा समाज कुलमा आत्मीय उल्लासमा
सङ्लो चित्त थियोे विशुद्ध उनको रोमाञ्चकारी मन
गर्ने बात रमाइला बखतमा आदर्शको जीवन
बोल्ने सत्य कुरा खुलस्त मनले सत्कर्म देखाउने
पूजा पाठ सधैं भजेर घरमा संस्कार सिकाउने
लेखे काव्य मिठा चरित्र गुणका साहित्यका सर्जक
भाषाका गुरुदेव भानु गतिला व्यक्तित्व आकर्षक
वासन्ती वनका सुगन्ध सरिका आत्मीय छौ सौरभ
साथी संगतका अविस्मरणका श्री भानु हौ गौरव
लेखें अल्प कुरा पुनःस्मरणका श्री भानुका नाममा
बासै बस्नु सधैं पुगेर नभमा स्वर्गीय त्यो ठाउँमा
आस्था पुञ्ज सधैं प्रसिद्ध गुरुमा श्रद्धा छ जिल्लै भरी
स्रष्टा हौ गुरुदेव नै अमर छौ हाम्रो छ श्रद्धाञ्जली ।
(कविता:शार्दूलविक्रीडित छन्द)