हेटौंडा : लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको हेटौंडामा सम्पन्न नवौं महाधिवेशनबाट इलामका पत्रकार युवराज गौतम लोकप्रिय मतका साथ केन्द्रीय उपमहासचिब पदमा निर्वाचित भएका छन् ।
यही साउन ६ र ७ गते वागमती प्रदेशको राजधानी हेटौंडामा भएको महाधिवेशनमा गौतम उपमहासचिब पदमा खुला प्रतिस्पर्धामा थिए । उनीसँगै सुर्खेतका कमल पन्त र दैलेखका रविन्द्र सुवेदी पनि उपमहासचिबमा निर्वाचित भएका छन् । कुल खसेको १३८३ मत मध्ये गौतमले ७३७ मत प्राप्त गरे । पन्तले ५७७ र सुवेदीले ५५८ मत ल्याए । महिला उपमहाचिवमा भने सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भए । त्यस्तै समावेशीतर्फ अभय राईले बाजी मारे ।
युवराज गौतम २०५८ सालमा इलामको फिक्कलबाट प्रकाशित पावनभूमी साप्ताहिकमा वितरक र संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गरेका हुन । २०६२ सालमा इलाममा युनियनको सदस्यता लिएका उनी तत्कालीन विजयशेखर भट्टराई अध्यक्ष हुँदा कार्य समिति सदस्य समेत भएका थिए । त्यसपछि उनी केन्द्रीय प्रतिनिधिको भूमिकामा थिए । पोखराको आठौं महासधिवेशनबाट उनी खुल्लातर्फ नै केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन् ।
गौतमले २०५९ देखि २०६१ सम्म स्पेसटाइम दैनिकमा दार्जिलिङ र इलाम संवाददाता रही काम गरेका थिए । २०६२ देखि पूर्वाञ्चल दैनिक र जनसंसद दैनिकमा स्टोरीबेस लेखनमा सक्रिय उनी २०६४ देखि काठमाडौंमा रही कान्तिपुर साप्ताहिक र भावी नेपाल साप्ताहिकमा पनि नियमित सक्रिय थिए ।
२०७० देखि २०७७ सम्म ईमेज ग्रुप अफ कम्पनीज अन्तर्गत ‘इमेजखबर डटकम’को डेक्स सम्पादक भएर काम गरेका गौतम २०७७ देखि एक बर्ष ‘हाम्राकुरा डटकम’मा समाचार संयोजकको जिम्मेवारीमा थिए । २०७६ देखि हालसम्म ‘अर्थबजार डटकम’को सम्पादकको जिम्मेवारीमा छन् । गौतम बरिष्ठ पत्रकार किशोर नेपाल सम्पादक रहेको रुपान्तरण डटकममा पनि सम्पादकीय नेतृत्वमा छन् ।
केन्द्रीय सदस्य निर्वाचित बनेपछि डिजिटल मिडिया विभागको संयोजकको जिम्मेवारी पाएका उनले डिजिटल मिडियासम्बन्धी रचनात्मक कार्यक्रमहरु गरेका थिए । गौतमले विशेषगरी राजनीतिक, सामाजिक र पर्यटन सम्बन्धी मुद्दामा कलम चलाउँदै आएका छन् ।