प्रधानमन्त्री भएर भारत जाँदा र अहिले कुनै फरक लागेन : अध्यक्ष दाहाल

  नयाँ बुलन्द
14 Shares


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिला प्रधानमन्त्री भएर भारत जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनुभएको छ ।

तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनुभयो । अध्यक्ष दाहालले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको बताउनुभयो । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको बताउनुभयो ।

उहाँले सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो । अपेक्षानुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरुमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन ।

त्यस्तै सुरक्षा दिनुभयो । विनयमोहन क्वात्रासँग फलदायी छलफल भयो । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको बताउनुभयो । अध्यक्ष दाहालले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताउनु भयो ।

उहाँले भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताउनुभयो । भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध बिस्तार गर्ने बारेमा प्रश्ताव राखेको र आफूले उक्त प्रश्ताव स्वीकारेको बताउनुभयो । उहाँले यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको बताउनुभयो ।

अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किनुभएको हो । भारतमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली काँग्रेस नेतृ आरजु राणासँगको भेट स्वास्थ्य उपचारको कामना गर्न दुतावासमा भएको अध्यक्ष दाहालले बताउनुभयो ।

त्यस्तै अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको र त्यसको कारण पत्ता नलागेको बताउनुभयो । उहाँले मोदीको कार्य व्यस्तता एवं आफूसँग गर्नुपर्ने कुरा पार्टी अध्यक्ष नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने बताउनुभयो ।

अध्यक्ष दाहाललाई स्वागत गर्न विमानस्थलमा उर्जा, जलश्रोत तथा, सिंचाईमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार