काठमाडौं : अर्थ मन्त्रालयले संसदीय छानबिन समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेको छ ।
समितिले अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीसीटीभी फुटेजलगायत कागजात बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउन अर्थलाई भनेको थियो । तर, प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सीसीटीभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ । मन्त्रालयको आनाकानीमै समितिको ३ दिन बितेको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो ।
तर, सीसीटीभी र आवश्यक कागजात नपाएपछि अन्योल छानबिन अगाडि बढ्न सकेको छैन ।