इलाममा ४५ करोड बेरुजु : सबैभन्दा बढी रोङमा र कम सूर्योदयमा

इलाम : इलामका १० स्थानीय तहको बेरुजु ४५ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ५९ प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्ने क्रममा उक्त बेरुजु फेला पारेको हो । स्थानीय तहमा अघिल्लो वर्षभन्दा यो वर्ष ५ करोड १४ लाख १३ हजार रुपैयाँ बेरुजु रकम बढेको हो ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले इलामका स्थानीय तहको बेरुजु ४५ करोड ६६ लाख ३६ हजार रुपैयाँ देखाएको हो । महालेखाले आर्थिक वर्ष २०७७/०७८ मा १० स्थानीय तहको ११ अर्ब ३५ करोड ५ लाख १९ हजार बराबरको लेखापरीक्षण गरेको थियो । कतिपय बेरुजु सैद्धान्तिक छन् भने कतिपय असुल उपर गर्नुपर्नेतर्फ महालेखाले औंल्याएको छ ।

इलामका १० स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रोङ गाउँपालिकाको देखिन्छ । रोङ गाउँपालिकाको बेरुजु प्रतिशत ६ दशमलव ९६ प्रतिशत छ । उक्त पालिकामा ७९ करोड १३ लाख ११ हजारको लेखापरीक्षण गर्दा ५ करोड ५१ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको हो । रोङले स्थानीय दुई खानेपानी आयोजनाको ४९ लाख ८७ हजार रुपैयाँको एचडिपी पाइप खरिदमा जिन्सी दाखिला गरेको पाइएको छैन । त्यसैगरी आवश्यकताको पहिचान नगरी ८७ लाख ४० हजार रुपैयाँ बराबरको बिजुलीको खम्बा खरिद गरी योजनामा नदेखाइ मौज्दात राखेको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा कम बेरुजु सूर्योदय नगरपालिकाको छ । सूर्योदयको बेरुजु प्रतिशत १ दशमलव ७४ प्रतिशत मात्र छ । २ अर्ब ११ करोड ५३ लाख ३६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त पालिकामा ३ करोड ६७ लाख २१ हजार रुपैयाँ बेरुजु पाइएको हो । तर, सूर्योदयले नियम विपरित ठेकेदारलाई भुक्तानी दिएको ६४ लाख ९१ हजार भने ठेकेदारबाट असुल गर्नुपर्ने गरी महालेखाले बेरुजु औंल्याएको छ ।

टि टेस्टिङ्ग निर्माणमा नियम विपरित मूल्य समायोजन गरेर ६ लाख ८४ हजारभन्दा बढी भुक्तानी दिएको र १५ शैयाको अस्पताल निर्माण गर्दा ढिस्को खार्ने काम मानिसले गर्ने गरी दर कायम गरेर ठेकेदारलाई भुक्तानी गरे पनि स्थलगत परीक्षण गर्दा मेशिनको प्रयोग गरिएको देखिएको हो । त्यसोगर्दा बढी भुक्तानी दिइएको रकम ५८ लाख ७ हजार रपैयाँ असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

इलाम नगरपालिकाको बेरुजु रकम १० करोड ९६ लाख ३७ हजार रुपैयाँ देखिएको छ । नगरको १ अर्ब ७९ करोड ४४ लाख ४० हजार रुपैयाँको परीक्षण गर्दा ५ दशमलव ७९ प्रतिशतले बेरुजु देखिएको हो । त्यसैगरी माई नगरपालिकाको बेरुजु ५ करोड २८ लाख ४० हजार रुपैयाँ छ । माईको १ अर्ब ७ करोड ३१ लाख ६४ हजार बराबरको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । उक्त पालिकाको बेरुजु प्रतिशत ४ दशमलव ९२ देखिन्छ ।

देउमाई नगरपालिकाको बेरुजु रकम ४ करोड २ लाख १६ हजार देखिन्छ । नगरको १ अर्ब २२ करोड ९३ लाख ५३ हजार बराबरको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । चुलाचुली गाउँपालिकाको ३ करोड २१ लाख २१ हजार बेरुजु छ । फाकफोक थुम गाउँपालिकाको बेरुजु ३ करोड ५१ लाख ६६ हजार पाइएको हो ।

माइजोगमाई गाउँपालिकाको बेरुजु रकम ४ करोड ३२ लाख ११ हजार नै रहेको छ । योभन्दा अघिल्लो वर्ष भने उक्त पालिकाको बेरुजु जिल्लामै सबैभन्दा धेरै थियो । माङसेबङ गाउँपालिकाको भने २ करोड ३० लाख ६८ हजार रुपैयाँ बेरुजु आएको छ । सन्दकपुर गाउँपालिकाको बेरुजु २ करोड ४५ लाख ४७ हजार देखिएको हो ।

इलामको सरकारी कार्यालयमध्ये सबैभन्दा धेरै बेरुजु खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा पाइएको छ । उक्त कार्यालयले उपभोक्तालाई भुक्तानी दिने क्रममा लापरवाही गरेको र खरिद नियमावली विपरित फिटिङ्स सामग्री प्रतिस्पर्धा बिना टुक्राएर खरिद गरेको महालेखाको प्रतिवेदनमा कैफियत जनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार