काठमाडौं : फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा. बाबुराम भट्टराई पक्षले आज अलग-अलग बैठक बोलाएका छन् ।
उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।
भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।
यादव र भट्टराईले पार्टीबाट अलग-अलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो ।
पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो । २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो । तर यादव र भट्टराईबीच एक-अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो ।
मतभेद उत्कर्षमा पुगेपछि शीर्ष दुई नेताहरुले सहमतिमै अलग-अलग हुने समझदारी गरेका थिए ।