कांग्रेसमा आक्रामक बन्दै कोइराला पक्ष

  नयाँ बुलन्द
35 Shares

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समितिको बैठकअघि आइतबार नेता शेखर कोइराला पक्षको बैठक बसेको छ । विशालनगरमा बसेको कोइराला पक्षको बैठकले सोमबारको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार पारेको छ ।कोइराला पक्षले केन्द्रीय समिति बैठकमा सरकारविरुद्घ आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको बताइएको छ । कोइराला पक्ष बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्दै आक्रमक रूपमा प्रस्तुत हुनेछ ।

उक्त समूहको आइतबार बसेको बैठकले यसका लागि एजेन्डा तय गरेको छ । कोइराला पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा गरिनुपर्ने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकमा कोइराला पक्षले स्थानीय तह र सरकारको गम्भीर समीक्षा हुनुपर्ने, सरकारले ल्याएको बजेटले पारेको असरको बारेमा छलफल हुनुपर्ने, पार्टीलाई विधिवत तरिकाले अगाडि बढाउन गम्भीर छलफल हुनुपर्नेजस्ता विषय उठाउने तयारी गरेको छ ।

यसैगरी निकट भविष्यमा हुने संघ (प्रतिनिधिसभा) र प्रदेशसभाको निर्वाचन तथा चुनावी तालमेलका विषयमा पनि कुरा उठाइने कोइराला निकट स्रोतले जनाएको छ । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुनुपर्ने माग उनीहरूले अगाडि सार्ने भएका छन् । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यसैगरी पार्टी सभापतिसमेत रहेका देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । केन्द्रीय समितिको बैठकमा कोइराला पक्षले आक्रामक एजेन्डा तयार गरे पनि संस्थापन पक्षले भने आगामी निर्वाचनलाई प्रमुख एजेन्डाको रूपमा अगाडि सार्ने तयारीमा छ । यसअघि बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनका सम्बन्धमा पूर्णबहादुर खड्काको संयोजकत्वमा एक कार्यदल बनाएको थियो । सोमबार सो कार्यदलको प्रतिवेदनमा पनि छलफल हुने बताइएको छ ।कोइराला पक्षको आइतबार बसेको बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायत सहभागी थिए । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार