चुलाचुली र माईजोगमाई गाउँपालिकामा पनि विद्युतीय भुक्तानी सेवा सुरु

चेकको पर्खाईमा सेवाग्राही लाइनमा बसिरहन नपर्ने

इलाम : इलामको चुलाचुली गाउँपालिका र माईजोगमाई गाउँपालिकाले पनि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा  सुरु गरेको छ ।

चुलाचुली गाउँपालिकाले सोमबारदेखि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा  सुरु गरेको हो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलन भट्टराईले जानकारी दिए ।

अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा हुने लेखा अधिकृत भट्टराईले बताए । त्यसका लागि सम्बन्धित सेवाग्राहीको चेकको फोटोकपि भने अनिवार्य चाहिने छ ।

‘हामीले परिक्षणका रुपमा सोमबादेखि अनलाइन भुक्तानी सेवा सुचारु गरेका हौं’ लेखा अधिकृत भट्टराईले नयाँ बुलन्दसँग भने, ‘अब कोही सेवाग्राही पनि चेकको पर्खाईमा लाइनमा बसिरहन पर्दैन । सिधैं उहाँहरुको खातामा रकम जम्मा हुनेछ ।’

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा चुलाचुलीले परिक्षणका रुपमा विद्युतीय भुक्तानी सुरु गरेको हो ।

परिक्षणका रुपमा केही सेवाग्राहीको खातामा अनलाइन भुक्तानी गरिरहेको भएपनि साउनदेखि अनिवार्य गरिने भट्टराईले बताए । विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुने लेखा अधिकृत भट्टराईको भनाई छ ।

उता माईजोगमाई गाउँपालिकाले आइतबारदेखि नै अनलाइन भुक्तानी सेवा सुचारु गरेको छ । विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले बताए ।

विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको रेग्मीको भनाई छ ।

छिटोछरितो, भरपर्दो र विश्वासनीय लेखांकन र प्रतिवेदनका लागि सुत्र प्रणालीको महत्वपूर्ण योगदान रहेको छ । सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिन्छ ।

यसअघि पहिलोपटक इलामको देउमाई नगरपालिकाले र माङसेबुङ गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा  सुरु गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार