माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा पहिलो पटक विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु भएको छ ।
‘क्यास लेस’ को अवधारणा अन्तर्गत आइतबारदेखि माङसेबुङ गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको माङसेबुङ गाउँपालिकाकी लेखा अधिकृत मञ्जु भट्टराईले जानकारी दिइन् ।
अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ । त्यसका लागि सम्बन्धित सेवाग्राहीको चेकको फोटोकपि भने अनिवार्य चाहिने छ ।
महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा माङसेबुङ गाउँपालिकाले भने असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो ।
सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखा शाखाका कर्मचारीलाई तालिम समेत दिएको थियो । विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको लेखा अधिकृत भट्टराईले बताइन् ।
‘विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसको अन्त्य भएको छ’ लेखा अधिकृत भट्टाराईले भनिन्, विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग मिल्छ । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ ।’
विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने भट्टराईले बताइन् । छिटोछरितो, भरपर्दो र विश्वासनीय लेखांकन र प्रतिवेदनका लागि सुत्रको महत्वपूर्ण योगदान रहेको छ ।
सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने लेखापाल राम दुलाले बताए ।
विद्युतीय भुक्तानी भनेको के हो ?
कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ ।
विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न । नेपालमा इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट लगायतका माध्यमबाट विद्युतीय भुक्तानीहरु हुने गरेका छन् ।