इलाम। अलैचीका नयाँ बगान विस्तार हुने क्रम बढेपछि इलाममा रहेको देशको एक मात्र अलैची विकास केन्द्रमा बिरुवाको माग बढ्दै गएको छ । अलैचीको मूल्य वृद्धि र स्थानीय तहले अलैची खेतीका लागि लगानी गरेका कारण बिरुवाको माग बढेको हो ।
४० वर्ष अघि रोपिएका अलैचीका बिरुवा मासिएपछि पूर्वी पहाडी जिल्लामा अहिले नयाँ बगानमा बिरुवा रोप्ने क्रम बढेको छ । मासिएको बगानमा पुनः अलैचीका बिरुवा रोपण गरि किसानले अलैची खेतीलाई पुनः व्यवसायिक बनाउन थालेका हुन् ।
नयाँ बगान विस्तारको क्रम बढेसँगै इलामको सूर्योदय नगरपालिका ९ स्थित अलैची विकास केन्द्रमा बिरुवाको माग समेत बढेको छ । खोल्साको सुन उपमा रहेको अलैची खेतीबाट बार्षिक रुपमा राम्रो आम्दानी हुन थालेपछि पूर्वी पहाडका किसानहरु अलैची खेतीतर्फ आकषित बन्दै गएका छन् ।
नयाँ बगान विस्तारको क्रम बढेसँगै अलैँची विकास केन्द्रमा लक्ष्यभन्दा बढी बिरुवाको बिक्रि भएको केन्द्रका प्रमुख भिष्मकान्त घिमिरेले बताए । अलैंचीका बिरुवाको माग अघिल्लो वर्षको तुलनामा यो वर्ष बढेको हो । अलैचीको मूल्य वृद्धि र स्थानीय तहले अलैची खेतीका लागि लगानी गरेका कारण बिरुवाको माग बढेको छ ।
अलैची विकास केन्द्रले ५० हजार बिरुवा विक्रि गर्ने लक्ष्य लिएकोमा अहिले एक लाख बिरुवा बिक्रि भइसकेको छ । केन्द्रमा अझै २५ हजार बिरुवा रहेका छन् । अलैचीको रोपण भदौ महिनासम्म हुने भएकाले निरन्तर माग रहने केन्द्रले जनाएको छ ।
अलैची खेती पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्थुम, संखुवासभा लगायत अहिले देशका ४० जिल्लामा विस्तार भइसकेको छ ।