पाँचथर : जडीबुटि खेती विस्तार कार्यक्रम अन्तर्गत फाल्गुनन्द -४ चिलिङदिनका कृषकलाई तीनचुले जडीबुटी कृषि सहकारीले विभिन्न प्रकारका जडीबुटीका विरुवा वितरण गरेको छ ।
जडीबुटी नर्सरी उत्पादन,विरूवा खरिद वितरण गरि औषधिको कच्चापदार्थ तथा घरेलु जडीबुटी उत्पादन गर्ने लक्ष्यसहित जेठको पहिलो हप्तादेखि कार्यक्रम संचालन भएको संस्थाका सचिव याम नेम्बाङले जानकारी दिए ।
१ नम्बर प्रदेश सरकार बन मन्त्रालयबाट आर्थिक सहयोग १० लाख रुपैंया र सहकारीको उपभोक्ता समिति तर्फबाट ५ लाख गरी जम्मा १५ लाख रुपैंयामा मनसुनको समयलाई मध्यनजर गर्दै संस्थाको कार्यालय पुरानो पञ्चमी बजारबाट किसान तथा शेयर सदस्यलाई विरुवा वितरण गरिएको छ । यस कार्यक्रम मार्फत आस्वगन्ध,सर्पगन्ध,हर्रोबर्रो,तेजपत्ता,कुरिलो,अमला,टिमुर लगायतका जडीबुटीका विरुवा बाँडिएको संस्थाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए।
अगुवा कृषकलाई जडीबुटी सम्बन्धी जनचेतना,विरुवा रोपण,जडीबुटीको उपयोग तथा प्राविधिक सहयोगका लागि पालिकाको आयुर्वेदिक औषधालयका वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीद्वारा प्रशिक्षण हुँदै आएको उनले बताए ।
सव वन डिभिजन कार्यालय,राँकेले अनुगमन गर्ने उक्त कार्यक्रमलाई डिभिजन वन कार्यालय पाँचथरले कार्यान्वयन गर्ने जनाइएको छ ।
३४ जना शेयर रहेको संस्थाका सदस्यहरुको निजी जमिन र ७ नम्बर फारममा रहेको यस वडाको लगभग दुई सय ५० रोपनी जग्गामा चिराइतो,सतुवा,घ्यूकुमारी,पाखनवेत,टिमुर,लोटसल्ला,बुढो ओखती,खनक्पा आदि जातका बोटविरुवा लगाइएको शेर्पाले बताए ।
जडीबुटी नर्सरी,उत्पादन,संकलन र प्रशोधन गरि निर्यात गर्न सरोकारवाला संग पहल गर्दै व्यवसायिक जडीबुटी उत्पादक कृषकलाई आर्थिक सहयोग,तालिम तथा प्रशिक्षण गराउने योजना रहेको संस्थाका ऋण संयोजक चन्द्रकुमार नेम्वाङले जानकारी दिए ।