कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको भन्दै छानविन गर्न कर्मचारीको माग

  नयाँ बुलन्द
0 Shares

इलाम : सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि स्थानीय युवकले दुर्व्यवहार गरेको घटना छानविन गर्न कर्मचारीले माग गरेका छन्। गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि माग राखेका छन्।

सन्दकपुर गाउँपालिका–३, सुलुबुङका नेपाली काङ्ग्रेस कार्यकर्ता देवेन्द्र सुवेदीले असार ८ गते प्रमुख प्रशासकीय अधिकृत राईलाई गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप छ। गाउँपालिका अध्यक्षको कोठामा बोलाएर सुवेदीले राईलाई गाउँपालिकाको प्रवक्ता र योजना छान्ने विषयमा हाबी भएको आरोप लगाउँदै गाली गरेको राईले बताए। ‘अध्यक्षकै अगाडि मलाई तथानाम आरोप लगाउँदै सुवेदीले कुटपिटको समेत प्रयास गर्नुभयो,’ राईले भने, ‘प्रवक्ता छान्ने, योजना छान्ने विषय जनप्रतिनिधिको हो, त्यसमा मेरो कुनै गल्ती र हस्तक्षेप थिएन र हुनेपनि छैन।’

तर, सुवेदीले तथानाम गाली गर्दै ‘फलानो कर्मचारी उद्दण्ड भएको’ भन्दै सिडिओलाई समेत फोन गरेको प्रत्यक्षदर्शीले बताए। सुवेदीकै भनाइलाई आधार बनाउँदै कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्माचार्यले समेत सामाजिक सञ्जाल फेसबुकमा प्रमुख प्रशासकीय अधिकृत राईले अध्यक्षलाई समेत गाउँपालिकाको सवारी साधन प्रयोग गर्न नदिइ आफैं प्रयोग गरिरहेको आरोप लगाएका थिए।

गाउँपालिकाका एक कर्मचारीले भने, ‘कार्यकक्षमा रहेका कर्मचारीलाई अध्यक्षको कोठामा बोलाएर हप्काउने हैसियत देखाउने सुवेदीको क्रियाकलाप कानुनी रूपमा दण्डनीय छ। उनको क्रियाकलापले कर्मचारीको मनोबल गिराउने काम गरेको छ।’ सुवेदी २०७४ सालको स्थानीय निर्वाचनमा त्यही गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए।

कर्मचारीहरूले  व्यक्तिगत स्वार्थका कारण भएको यो घटनालाई राजनीतिक रङ नदिन विज्ञप्तिमार्फत् आग्रह गरेका छन्। ‘प्रमुख प्रशासकीय अधिकृतमाथि भएको दुर्व्यवहार निन्दनीय र अशोभनीय छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस प्रकारको घटनाले गाउँपालिकालाई अस्थिर गराइ धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको सुरुआत गराइ सुशासन, कर्मचारीको कार्यसम्पादन, विकास निर्माण, सेवाप्रवाह र समग्र गाउँपालिकाको विकासमा बाधा गर्छ।’

किरात राई कर्मचारी मञ्चले पनि विज्ञप्ति जारी गरी प्रमुख प्रशासकीय अधिकृत राईमाथि दुव्र्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। सुवेदीले भने आफूले सम्झाउन खोज्दा प्रमुख प्रशासकीय अधिकृत राई नै आवेशमा आएको बताए। ‘मलाई अध्यक्षले बोलाएकाले गाउँपालिका गएका बेला राईसँग भनाभन भएको हो, मैले दुर्व्यवहार गरेको छैन,’ सुुवेदीले भने, ‘मैले सम्झाउन खोज्दा बरु कर्मचारी राई नै बढी आवेशमा आउनुभएको हो।’ सुवेदीले केही जनप्रतिनिधिले कार्यपालिका बैठकको एजेन्डा नै थाहा नपाएको कुरा आएपछि आफूले सोधीखोजी गर्दा भनाभनको अवस्था सिर्जना भएको बताए।

भीम चापागाई/नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार