जिल्लाकै जेठो विद्यालय मेहेल्बोटेमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको आकर्षण,पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना

  युद्धबहादुर बोहोरा
2.2k Shares

फाइल तस्वीर

पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ मेहेल्बोटेस्थित जयनारायण आर्दश माद्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

“ब्याच २०४९ उत्कृष्ठ विद्यार्थी उत्प्रेरणा कल्याण छात्राबृत्ती अक्षयकोष-२०७८” स्थापना गर्न २०४९ सालका ७६ जना विद्यार्थी मध्ये १४ जना पूर्वविद्यार्थीहरुले ३ लाख ७१ हजार रुपैयाँ रकम संकलन गरी अक्षयकोष स्थापना गरेका छन् ।

बालापनको मित्रतालाई एक सुत्रमा बाँधी,आत्मिय,पारिवारिक,सामाजिक र सामुहिक बनाउने,भावी भाईबहिनीहरुलाई मित्रता र  आत्मियताको उहाहरण प्रस्तुत गरि अग्रजहरुले दिएको माया,ममताको अनुभुति दिलाउँदै सामाजिक बन्न उत्प्रेरित गराउने उदेश्यले  विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्वविद्यार्थीहरुले अक्षयकोष स्थापना गरेका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको सर्वत्र आरोप आइरहेका बेला उनीहरुले शैक्षिक गुणस्तर सुधारमा सहायता पुर्याउने हेतुले अक्षयकोष स्थापना गरेको पूर्वविद्यार्थी कृष्ण राज फेवदिनले बताए । अक्षयकोषको व्याजदरबाट विद्यालयमा एसईई उर्त्तिण गरेका उकृष्ट विद्यार्थी एक जना र अन्य विद्यालयबाट उकृष्ट अंक ल्याएर अध्ययन गर्न आउने एक गरी दुई जनालाई छात्रवृत्ति प्रदान गरिने अक्षयकोष दाता गंगा प्रसाद आङदेम्बेले बताए ।

त्यस्तै,प्राविधिक विषयतर्फ सिटीईभिटीको कक्षा १२ मा उकृष्ट अंक ल्याएर उर्त्तिण हुने एक जना अन्य विद्यालयबाट उकृष्ट अंक ल्याएर यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी गरी दुई जनालाई छात्रवृत्ति प्रदान गरिने अक्षयकोष दाताहरुले जनाएका छन् ।

अक्षयकोष स्थापना कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र बहादुर चेम्जोङ, वडाअध्यक्ष नारायण प्रसाद आङदेम्बे शिक्षक र अभिभावकहरुले अक्षयकोष स्थापना गर्ने दाताहरुको सहयोग प्रशंसा गर्दै आगामी दिनमा अन्य इच्छुक महानुभावले पनि हातेमालो गरिदिन आग्रह गरेका थिए ।

२००५ सालमा स्थापना भएको जिल्लाकै जेठो विद्यालय भनेर चिनिएको यस विद्यालयमा प्राविधिक धार विषय अन्तरर्गत सिटीईभिटी कक्षा संचालन हुँदै आएको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिए । जिल्लाको दक्षिणी भेगमा संचालित यो शिक्षण संस्थामा प्राविधिक धारको विषय अध्यापन गर्न थालिएपछि छिमेकी जिल्ला इलाम र  आसपासका अन्य स्थानीयतहका विद्यार्थीको आकर्षण बढेको छ ।

यहाँबाट प्राविधिक शिक्षा लिएका अधिकांश जनशक्तिहरु हाल विभिन्न पालिकाहरुमा समेत रोजगारी पाइरहेको बताउँदै व्यावहारिक र उपयोगी शिक्षा प्रति सरोकारवाल निकायले थप व्यवस्थित बनाउन पहल गर्नु पर्ने प्रधानाध्यापक आचार्यले माग गरेका छन् ।

साविक आङ्साराङ गाउँ विकास समिति वडा नम्बर १ मा रहेको यस विद्यालयमा अध्ययन गर्ने धेरै व्यक्तित्वहरु देशको नेतृत्वदायी भुमिका सम्हालेका,विदेशका कुटनितिक नियोग तथा संघसंस्था र विभिन्न  पार्टीको जिम्मेवारी वहन गरिरहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार