पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडामा संचालित जनजागरण अभियान कृषि सहकारीद्वारा १७ लाख २५ हजार रुपैंयाको कृषि सामाग्री वितरण गरेको छ ।
किसानलाई दुग्द उत्पादन प्रशोधन पूर्वधार निर्माण सहयोगका लागि १ नम्बर प्रदेश कृषि मन्त्रालयको १५ लाख अनुदान र सहकारी संस्थाबाट रकम थप गरि दुध उत्पादक २५ जना किसानलाई गोठ निर्माण/सुधार र घाँस काट्ने मेसिन (च्याफ कटर) प्रदान गरिएको संस्थाका अध्यक्ष रुकेन्द्र चेम्जोङले जानकारी दिए ।
संस्थाको लगानी ५ लाख ५२ हजार सात सयसहित जम्मा २० लाख ५२ हजार सात सय रुपैंयाको उक्त कार्यक्रम मार्फत दुई लाख ३७ हजार तीन सय रुपैंयाको सात सय लिटर क्षमताको दुध पकाउने मेशिन एक थान र ८० हजार रुपैंयाको ५५० लिटरको चेष्ट फ्रिज एक थान संस्थामा रहने गरि खरिद गरिएको छ ।
यस सहकारी र उन्नति समावेशी वृद्धि परियोजनासंगको साझेदारीमा इलाम फाकफोकथुम वडा न. १ र २ साथै पाँचथर फाल्गुनन्द वडा न. ४ र ५ का कृषकलाई लक्षित गरि घुर्बिसे पञ्चमीमा संस्थाले चिस्यान केन्द्रको शुरुवात गरि डिडिसी संस्था विराटनगरलाई दुध दिइने गरिएको थियो।
घुर्बिसे पञ्चमीदेखि राँके सम्मको सडक बिग्रिएका कारण ढुवानी गर्न कठिनाई भएपछि डिडिसीलाई दिन नसकिएको र हाल संकलन केन्द्रबाट दुध बिक्रि हुने,दही,पनिर,घ्यू र छुर्पी उत्पादन गर्दै बिभिन्न ठाउँमा निर्यात गरिरहेको संस्थाका अध्यक्ष चेम्जोङले बताए ।
संस्था मार्फत यसअघि छ सय जना कृषकलाई पशुपालन सम्बन्धी तालिम,चार सय जनालाई किसानलाई गोठ सुधार,घाँस तथा घाँसेबाली र पशुपालन सम्बन्धी तालिम संचालन गरिसकेको छ । दुवै जिल्लाका पशुपालक कृषकलाई ७५ थान च्याप कटर,विभिन्न प्रकारका घाँसका विरुवा पनि हस्तान्तरण गरिसकेको छ । दुध उत्पादन हुने पकेट क्षेत्रलाई अझै व्यवस्थित गर्दै कृषकको आयस्रोत वृद्धि गर्ने उद्देश्यले कृषि विशेषज्ञबाट प्रभावकारी तालिमको व्यवस्था गरिने जनाइएको छ ।
कृषकको हितमा काम गर्ने उदेश्यले २०६४ सालमा दर्ता भइ निरन्तर कृषि पेशा,व्यावसायिक खेती,कृषि उपज सामाग्री उत्पादन,संकलन लगायतका काममा अग्रसर यस संस्थामा ६५ जना शेयर सदस्य र तीन जना कर्मचारी कार्यरत छन् ।