रानिटारबासीले बुझाए विद्युत प्राधिकरणमा ज्ञापनपत्र

  नयाँ बुलन्द
602 Shares

पाँचथर: फिदिम नगरपालिका वडा नम्बर ७ र ८ रानिटारका नागरिकले विद्युत सेवा अनियमितता भएको गुनासोसहित विद्युत प्राधिकरण फिदिममा ज्ञापनपत्र बुझाएका छन् ।

सामान्य पानी पर्दा,बतास चल्दा पटक-पटक विद्युत सेवा अवरुद्ध भइरहने र अन्धकारमा लामो समय रुमलिनु पर्ने बाध्यता खेपिरहेको गुनासो गर्दै स्थानीयबासीले विद्युत सेवा सुचारु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पाँचथरलाई बोधार्थ दिंदै उनीहरुले बारम्बार विद्युत सेवाबाट वञ्चित भइ हप्तामा एक/दुई दिन मात्रै  सेवा लिएर बाँकी अन्य उज्यालो विहिन अवस्थामा कष्टकर जीवन बिताउनु परेको भन्दै आक्रोसित बनेका छन् । नेपाल विद्युत प्राधिकरण स्वयंमले विद्युत वितरण नगरी फिदिम विद्युत सहकारी संस्था मार्फत सेवा संचालन गर्न दिएका कारण नागरिकले मार खेप्नु परेको दावीसहित ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

फिदिमबाट वितरण हुँदै आएको विद्युत एउटै लाइनबाट रानिटार,पौवाभन्ज्याङ,इम्वुङ लगायतका क्षेत्रमा वितरण भएकोले लामो दुरी भइ अवरोध हुने गरेको र समस्या चाँडै पत्ता लगाउन नसक्दा सेवा नियमित सुचारु गर्न नसकिएको फिदिम विद्युत सहकारी संस्थाका कार्यालय प्रमुख रामचन्द्र थापाको भनाइ छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेले विद्युतको समस्या समाधान गर्नका लागि सम्बन्धीत पक्षसंग कुरा गरेर सेवा नियमित गर्न निर्देशन दिने बताए ।

विद्युत सेवा अवरोध हुँदा यस क्षेत्रका उपभोक्ताहरुले अध्यारोमा बस्नु पर्ने,मोवाइल चार्ज गर्न नपाउने ,इन्टरनेट चलाउन नपाउने ,टेलिभिजन हेर्न नपाउने, घरेलु उद्योग,मिल संचालनमा असहज हुने भन्दै सम्बन्धीत निकायले ध्यान दिन आग्रह गरेका छन् । विगतदेखिनै यस्तो समस्याको शिकार बनेका रानिटारबासीले यसअघि पनि जिल्ला प्रशासन कार्यालय,प्राधिकरण,विद्युत सहकारी संस्थामा धर्ना सहित ज्ञापनपत्र समेत बुझाएपछि सेवा नियमित गरिएको थियो । तर, एक वर्ष पश्चात पुनःत्यही समस्या दोहोरिन थालेपछि उपभोक्ताले चाँडै सेवालाई नियमित गर्न अनुरोधका साथ कार्यालयमा पत्र बुझाएको स्थानीय उपभोक्ता रामप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार